विश्व फुटबल क्षेत्रकाे सबैभन्दा प्रतिष्ठित प्रतियोगिता विश्वकप आज मध्यरातिबाट सुरु हुँदैछ। चार वर्षको प्रतीक्षापछि हुने यो महाकुम्भ यसपटक अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन्, जुन विश्वकप इतिहासमै पहिलो पटक तीन राष्ट्रले आयोजना गरेको संस्करण हो।
उद्घाटन खेल मेक्सिको सिटीस्थित प्रसिद्ध एज्तेका रंगशालामा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। विश्वभरका करोडौं दर्शकको ध्यान आगामी ३९ दिनसम्म उत्तर अमेरिकाका विभिन्न रंगशालामा केन्द्रित रहने अपेक्षा गरिएको छ।
यस संस्करणमा पहिलो पटक ४८ टोली सहभागी हुँदैछन्। यसअघि ३२ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने व्यवस्था थियो। टोली संख्या बढेसँगै खेलको संख्या पनि बढेर १०४ पुगेको छ, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो। नवप्रवेशी राष्ट्रहरू कप भेर्डे, कुराकाओ, उज्वेकिस्तान र जोर्डनले पनि पहिलो पटक विश्वकपको अनुभव लिनेछन्।
प्रतियोगिताका अधिकांश खेल अमेरिकामा हुनेछन्। क्वाटरफाइनल, सेमिफाइनल र फाइनलसहित ७६ खेल अमेरिकी शहरहरूमा आयोजना गरिनेछन्। मेक्सिको र क्यानडामा भने समान १३–१३ खेल हुनेछन्। जुलाई १९ मा न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा फाइनल खेल सम्पन्न हुनेछ।
विश्वकपको उपाधि दाबेदारका रूपमा स्पेन र फ्रान्सलाई बलियो टोली मानिएको छ। साविक विजेता अर्जेन्टिना, इंग्ल्यान्ड, जर्मनी, ब्राजिल, पोर्चुगल तथा नेदरल्यान्ड्स पनि उपाधि दौडका प्रमुख प्रतिस्पर्धी हुन्।
प्रतियोगितामा नेमार, किलियन एम्बापे, लामिन यामाल, ओस्मान डेम्बेले, इर्लिङ हालान्ड र मोहम्मद सलाहजस्ता स्टार खेलाडीमाथि समर्थकको विशेष नजर रहनेछ। यद्यपि, फुटबल जगतको केन्द्रमा फेरि एकपटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो रहने अपेक्षा गरिएको छ। दुवै महान् खेलाडीले सम्भावित रूपमा आफ्नो छैटौँ विश्वकप खेल्दै नयाँ इतिहास रच्ने अवसर पाउनेछन्।
यद्यपि केही चर्चित खेलाडी भने चोट वा टोली छनोटमा नपरेका कारण विश्वकपबाट बाहिरिएका छन्। यस सूचीमा ह्युगो इकितिके, रोड्रिगो, इडर मिलिटाओ, सर्जी ग्नाब्री, कोल पाल्मर, फिल फोडेन, पाउलो डिबाला, रोबर्ट लेवान्डोस्की, ख्भिचा क्वारात्स्खेलिया र डोमिनिक सोबोस्लाई रहेका छन्।
यसपटकको विश्वकपमा ६५१ मिलियन अमेरिकी डलर पुरस्कार राशि राखिएको छ, जुन अघिल्लो संस्करणको तुलनामा उल्लेखनीय रूपमा बढी हो। प्रतियोगिताको विजेता टोलीले ५० मिलियन डलर प्राप्त गर्नेछ।
फुटबल प्रेमीहरूका लागि आगामी एक महिना उत्साह, प्रतिस्पर्धा र नयाँ इतिहास निर्माणको प्रतीक्षाले भरिएको रहनेछ। :::
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्