रास्वपा नुवाकोटकाे जिल्ला अधिवेशनमाथि उठ्याे गम्भीर प्रश्न, केन्द्रमा उजूरी दिने तयारी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २८, बिहीबार ०९:५६

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया विवादमा तानिएको छ। निर्वाचन प्रक्रियामा व्यापक अनियमितता र धाँधली भएको आरोप लगाउँदै केही उम्मेदवार तथा प्रतिनिधिहरूले केन्द्रमा उजुरी दिने र पुनः निर्वाचनको माग गर्ने तयारी गरेका छन्।


जिल्ला सचिव पदका उम्मेदवार शिवराज लामिछानेले सार्वजनिक रूपमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमा उल्ले ख गरे अनसार जिल्ला अधिवेशनका लागि आधिकारिक रूपमा २५३ जना प्रतिनिधि दर्ता भई प्रतिनिधि कार्ड वितरण गरिएको थियो। तर मतदानको अन्तिम परिणाममा ३३६ मत खसेको देखिएको भन्दै उनले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।


लामिछानेले केही प्रतिनिधिको नाममा दोहोरो मतदान भएको तथा उपस्थित नै नभएका व्यक्तिको नाममा समेत मत हालिएको आरोप लगाएका छन्। मतदानका क्रममा मतपत्र पारदर्शी रूपमा नदेखाई प्रक्रिया सञ्चालन गरिएको र गणनामा समेत शंका उत्पन्न गर्ने गतिविधि भएको उनको दाबी छ।


यस्तै, निर्वाचन प्रतिनिधि जनक ढुंगानाले पनि सामाजिक सञ्जालमार्फत आफ्नो नाममा अर्कैले मतदान गरिसकेको संकेत भेटिएको बताएका छन्। उनका अनुसार मतदान गर्न जाँदा आफ्नो नाम रहेको स्थानमा पहिले नै पेनले चिन्ह लगाइएको देखिएको थियो। विरोध जनाएपछि मात्रै आफूलाई मतदान गर्न दिइएको उनको भनाइ छ।


ढुंगानाले निर्वाचन प्रक्रियामा धेरै जालझेल भएको आफूले महसुस गरेको उल्लेख गर्दै त्यसबेला पार्टीको छविमा नकारात्मक असर नपरोस् भन्ने सोचले सार्वजनिक रूपमा नबोलेको बताएका छन्।
विवादित निर्वाचनमा जिल्ला सभापति रामेश्वर गजुरेल नेतृत्वको प्यानललाई जिताउन योजनाबद्ध रूपमा प्रक्रिया प्रभावित गरिएको आरोप समेत लगाइएको छ। खुला प्रतिस्पर्धाको दाबी गरिए पनि निर्वाचन प्रतिनिधिको सूचीमै चलखेल गरी एकपक्षीय वातावरण बनाइएको आरोप असन्तुष्ट पक्षको छ।जिल्लामा प्रदेश प्रतिनिधिले समेत मतदान गरेको आराेप लगाईएकाे छ।


पार्टीका केही कार्यकर्ताले जिल्ला सचिव तथा प्रशासन प्रमुख फागुन २१ गतेकाे निर्वाचनमा नुवाकाेट १ काे कमान्ड सम्हालेका लामिछानेलाई पार्टीलाई विधि, प्रक्रिया र संस्थागत ढंगले अघि बढाउन खोज्दा उल्टै सचिवकाे जिम्मेवारी पूरा नगरेकाे भन्दैसचेतपत्र दिने र कारबाहीको धम्की दिने प्रयास भएको दाबी गरेका छन्।


यस विषयमा लामिछानेले नुवाकोट पुकारसँग निर्वाचनसँग सम्बन्धित धेरै गम्भीर प्रश्न उठेकाले निष्पक्ष छानबिनमार्फत सत्यतथ्य बाहिर ल्याउन केन्द्रमा निवेदन दर्ता गर्ने तयारी भइरहेको बताएका छन्। उनले आफू र समग्र रास्वपा नुवाकोटलाई दबाब, धम्की तथा त्रासबाट मुक्त राख्न पार्टी नेतृत्वले आवश्यक पहल गर्नुपर्ने माग गरेका छन्।


उनले सामाजिक सञ्जालबाट उदाएको पार्टी भएकाले संगठनभित्र देखिएका समस्या र कमजोरीबारे कार्यकर्ताले खुलेर प्रश्न उठाउन पाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन्। रास्वपा महाधिवेशनमा रामेश्वर गजसरेलले २५७ मतसहित शानदार जित हाासिल गरेका थिए ।यस विषयमा संस्थापन पक्षका एक नेताले अधिवेशनमा कुनै कैफियत नभएको दावी गरेका छन् ।


उता नुवाकोटमा देखिएको विवादको असर बागमती प्रदेश अधिवेशनमा समेत परेको बताइएको छ। प्रदेश निर्वाचन सुरु भएको केही मिनेटमै स्थगित हुन पुगेको र प्रतिनिधि छनोट प्रक्रियामै विवाद रहेको आरोप सार्वजनिक भएपछि अर्को निर्वाचनको मिति समेत अनिश्चित बनेको स्रोतको दाबी छ।


यद्यपि, यी आरोपबारे निर्वाचन समिति तथा आरोपित पक्षको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। विवादबारे पार्टी केन्द्रले गर्ने निर्णय र छानबिनको निष्कर्षलाई चासोका साथ हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *