काठमाडौँ — नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षले पठाएको ७ बुँदे सहमतिको प्रस्ताव पर्याप्त नभएको भन्दै इतर समूहले थप स्पष्ट र विश्वसनीय व्यवस्था आवश्यक रहेको जनाएको छ।
कांग्रेसका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले बिहीबार आफ्नै निवास बाँसबारीमा आयोजित पत्रकार सम्मेलनमा संस्थापनबाट आएको सहमतिको खाका प्राप्त भएको पुष्टि गरे। तर उक्त प्रस्तावले पार्टीभित्रको अविश्वास हटाउन र निष्पक्ष वातावरण सुनिश्चित गर्न पर्याप्त आधार नदिएको उनको भनाइ थियो।
उनले १५औँ महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र विवादरहित बनाउन १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति तथा विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई समेटेर साझा संयन्त्र गठन गर्नुपर्ने धारणा राखे। यस्तो संयन्त्र निर्माणप्रति संस्थापन पक्ष सकारात्मक नदेखिएकाले थप शंका उत्पन्न भएको उनले बताए।
महतका अनुसार क्रियाशील सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति र विधान संशोधन समिति जस्ता महत्त्वपूर्ण संरचनाहरू दुवै पक्षको सहमतिमा गठन हुनुपर्छ। उनले पार्टीभित्र देखिएको विभाजन र प्रतिनिधिसभा निर्वाचनको परिणामपछि नेता–कार्यकर्तामा निराशा बढेको उल्लेख गर्दै एकताको वातावरण निर्माण गर्न संस्थापन पक्षले सक्रिय पहल गर्नुपर्ने बताए।
उनले हालसम्म त्यस प्रकारको विश्वास जगाउने प्रयास महसुस गर्न नसकेको पनि बताए। साथै, ७ बुँदे प्रस्तावमा पद र जिम्मेवारी बाँडफाँटको विषय बढी केन्द्रित रहेको टिप्पणी गर्दै आफ्नो समूहको प्राथमिकता भागबन्डा नभई निष्पक्ष र विश्वसनीय महाधिवेशन सम्पन्न गराउनु रहेको स्पष्ट पारे।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्