अमरेश सिंहको बजेटमाथि प्रश्नः “गरिब, किसान र युवाले के पाए ?”

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २८, बिहीबार १४:३८

काठमाडौं ।सत्तारुढ दलका सांसद अमरेशकुमार सिंहले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधिसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि धारणा राख्दै उनले बजेटले आम नागरिक, किसान तथा युवाको अपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरे।


उनले देशमा आर्थिक गतिविधि सुस्त रहेको, बैंकिङ प्रणालीमा निक्षेप थुप्रिए पनि लगानी र ऋण प्रवाह बढ्न नसकेको अवस्था उल्लेख गर्दै यसको कारणबारे सरकारसँग जवाफ मागे। व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण अभाव रहेको र समाजमा डरको वातावरण बढेको उनको भनाइ थियो।


सिंहले शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक अधिकारका रूपमा व्यवस्था गरेको स्मरण गराउँदै सर्वसाधारणका छोराछोरी अध्ययन गर्ने विद्यालयमा कर लगाइएको विषयप्रति आपत्ति जनाए। साथै, देशभर गुणस्तरीय शैक्षिक संस्थाको विस्तार हुने अपेक्षा पूरा नभएको पनि बताए।


आफ्नो निर्वाचन क्षेत्रमा किसान र गरिब समुदायको बाहुल्य रहेको उल्लेख गर्दै उनले किसानले उत्पादनको उचित मूल्य नपाउने समस्या उठाए। गाउँमा अत्यन्त कम मूल्यमा बिक्री हुने तरकारी उपभोक्ताले शहरमा धेरै महँगोमा किन्नुपर्ने अवस्थालाई अन्त्य गर्न आवश्यक नीति ल्याउन सरकारलाई आग्रह गरे।
युवामुखी आन्दोलन र रोजगारीको मागबारे चर्चा गर्दै उनले बजेटले कर्मचारीलाई केही राहत दिएको भए पनि गरिब नागरिक र बेरोजगार युवाका लागि पर्याप्त कार्यक्रम नदेखिएको टिप्पणी गरे। मुसहर, चेपाङलगायत पछाडि परेका समुदायको जीवनस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने उनको धारणा थियो।
बजेटको आकार र कार्यान्वयन क्षमतामाथि समेत प्रश्न उठाउँदै सिंहले प्रस्तुत बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुनेमा आफू विश्वस्त नरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *