
काठमाडौं, १४ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आगामी माघ १८ गतेबाट सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको क्यालेन्डरका बिषयमा बिभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ ।
संघीय संसद् सचिवालयले तयार गरेको क्यालेन्डरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा सभामुख घिमिरेले बिभिन्न दलसंग छलफल गर्नुभएको हो । सचिवालयले माघ १८ गतदेखि ३० गतेसम्मको क्यालेन्डर तयार पारेको छ । माघ १८ गते बस्ने पहिलो बैठकमा अध्यादेशहरु टेवल गर्ने र प्रधानमन्त्री लगाएत शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभयो । त्यस्तै यस अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा सफल बनाउन सभामुखले आग्रह गर्नुभएको उहाले बताउनुभयो । घिमिरेले प्रतिपक्षीले अध्यादेशका बिषयमा उठाएका बिषयहरुलाई सदनमा नै छलफल गर्ने तयारी भएको उल्लेख गर्नुभयो ।
त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले १८ गते सुरु भइ २२, २३ र २४ गते संसद बैठक बस्ने जानकारी दिनुभयो । १८ गते बस्ने बैठकमा अध्यादेश पेश हुने र २२ गते निर्णयार्थ प्रस्तुत हुने उहाले बताउनुभयो । उहाले माघ २५, २६ र २७ गते संसदीय समितिको बैठक बस्ने र २८, २९ र ३० गते गते संसद बैठक बस्ने जानकारी दिनुभयो ।
संसदको सुरुका दिन शीर्ष नेताहरुले सम्बोधन गर्दा विश्वासको वातावरण निर्माण हुने बर्तौलाले विश्वास व्यक्त गर्नुभयो । माघ १८ संसद बैठक बस्नुअघि कार्यसूची तय गर्न माघ १५ गते मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।