
विदुर । सरकारले माघ २२ गतेबाट १६ लाख बालिकाअर्थात किशोरीहरुलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी)खोप अभियान सञ्चालन गर्दैछ । सोही अभियान अनुसार स्वास्थ्य कार्यालय नुवाकोटले पनि स्थानीय तहमार्फत अभियानको सञ्चालनको तयारी गरेको छ ।
कार्यालयका अनुसार जिल्लाभरमा रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब ११ हजार किशोरीलाई माघ २५ गतेबाट खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । स्वास्थ्य कार्यालय नुवाकाटका प्रमुख महेन्द्रध्वज अधिकारीका अनुसार खोप सञ्चालनका लागि ३०४ ओटा खोप केन्द्र निर्धारण गरिएको छ । जसमा २ सय विद्यालय छन् भने बाँकी स्वास्थ्य केन्द्रबाट लगाईने छ । खोपका लागि स्वास्थ्यकर्मीहरु परिचालन गर्ने तयारी भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ देखि १० कक्षामा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई उक्त खोप लगाईने छ ।
सोही अभियान अनुसार विदुर नगरपालिकामा माघ २५ गतेबाट खोप सुरु हुने जनाइएको छ । नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार माघ २५ गते देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । नगरपालिकाले यसका लागि खोप केन्द्र र सम्बन्धित व्यक्ति समेत सार्वजनिक गरेको छसरकारले देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । अभियान सफल बनाउनकालागि स्थानीय तहमार्फत स्वास्थ्य स्वयम्सेविकाहरुलाई अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ । सो अभियानमा विद्यालय शिक्षिकाहरु समेत समावेश रहेका छन् ।
केन्द्रीय स्वासथ्य महाशाखाका अनुसार उक्त खोपले ह्युमन प्यापिलोमा भाइरबाट हुने पाठघेरको मुखको क्यान्सरबाट सुरक्षित गर्छ । यो खोप एचपिभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सरबाट हुनबाट सुरक्षित गर्दछ ।
स्वास्थ्य विज्ञहरुका अनुसार यो खोप ९८ देखि १०० सम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । यो खोप १० देखि १४ वर्ष उमेरका किशोरीलाई १ मात्रा डोज दिए पुग्छ । यो खोप ०.५ एमएल पुग्ने डा. गौतम बताउनुहुन्छ। खोप सुइको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ । यो खोप लक्षित समूहबाहेक अन्य व्यक्ति, गर्भवती, पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी प्रतिक्रिया भएको वा एनाफाइलेक्सिस प्रतिक्रिया भएको व्यक्ति, एचपिभी खोपमा भएका कुनै तत्वबाट गम्भीर एलर्जी भएको व्यक्तिले लगाउन नहुने विज्ञहरुको सुझाव रहेको छ ।
