
विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला बागमती प्रदेशसभा सदस्यमा निर्वाचित बहादुरसिंह लामाको यतिखेर मुख्यमन्त्रीको चर्चा रहेको छ । नुवाकोट जिल्ला प्रतिनिधिसभाको उम्मेदवार बन्न इच्छुक रहेका लामालाई पार्टीका शीर्ष नेताहरुको आग्रहमा नुवाकोट जिल्लाको क्षेत्र नं २ को प्रदेश ख को उम्मेदवार बनाइएको थियो ।
प्रदेशसभामा भारी मतकासाथ निर्वाचित भएका लामाको पनि मुख्यमन्त्री बन्ने इच्छा रहेको बुझिएको छ । यसका लागि लामाले पार्टीका शीर्ष नेताहरुसम्म कुरा पुर्याउने प्रयास गरेका छन् । यसका लागि लामाले नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतदेखि कांग्रेसका नेता अर्जुननरसिंह केसी, महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाँडसम्मका नेताहरुकोमा लबिड. गरिरहेका छन् । तर यसअघि मुख्य मन्त्रीको बलियो दावेदारीकासाथ प्रदेशसभामा नै निर्वाचन लडेका नेपाली कांग्रेस बागमती प्रदेशसका सभापति इन्द्र बानियाँको पनि मुख्यमन्त्रीमा दावी रहेको छ ।
बानियाँ गत प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता थिए भने पाँच दलीय गठबन्धनको सहमति अनुसार मुख्यमन्त्रीका लागि भद्र सहमतिकासाथ तयारीमा बसेका थिए । तर समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले निर्वाचनसम्म आफूले नछाड्ने बताएपछि उनको मुख्यमन्त्री बन्ने सपना तुहिएको थियो । यस पटक भने बानियाँ बलियो दावेदारका रुपमा रहेका छन् । बानियाँलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्ण बहादुर खड्कासम्मको बलियो समर्थन रहेकाले उनको सम्भावना बलियो रहेको छ ।
तर मकवानपुरमा उम्मेदवार बनेका गठबन्धनका उम्मेदवारहरुलाई राम्रोसँग सहयोग नगरेको भन्दै बानियाँप्रति हेटौडाका कांग्रेसहरु असन्तुष्ट बनेका छन् । अर्कोतर्फ बागमती प्रदेशको तथ्यांकअनुसार कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको छ । तामाङ यस प्रदेशको सबैभन्दा ठूलो जातीय समूह हो ।
यस प्रदेशमा कुल जनसख्याको २०.५४ प्रतिशत तामाङ जाति रहेका छन् । १३ जिल्ला रहेको वागमती प्रदेशमा ६ जिल्लाका काँग्रेसका सभापति तामाङ समुदायकै छन् । दोलखामा बर्मा लामा, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), रसुवामा पेम्बाछिरिङ्ग तामाङ्ग, सिन्धुपाल्चोकमा जंगबहादुर लामा, काभ्रेमा तीर्थबहादुर लामा र मकवानपुरमा बुद्ध लामा काँग्रेसका सभापति हुन् । यद्यपि गठबन्धन दलबीच सहमति भएमात्रै नेपाली कांग्रेसले मुख्यमन्त्री पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् ।