
काठमाडौं । सरकारले ल्याएको अध्यादेशलाई आज संघीय संसदका दुवै सदरबाट पारित गर्ने कार्यसूची रहेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेश आज बिहीबार दुवै सभाका बैठकले स्वीकृत गर्ने कार्यसूची छ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बिहीबार बोलाइएको बैठकमा ६ अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूचि तय भएको छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ बजेर १५ मिनेटमा बोलाइएको छ। दुवै सभाले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची राखिएको छ । उता विपक्षी दलहरुले
मोर्चाबन्दी नै गरेर अध्यादेश असफल गराउने रणनीतिमा लागेका छन् । विपक्षी दलबाट ६६ वटा अस्विकारको प्रस्ताव पेश भएको छ । तर संसदीय विधान अनुसार ति सबै छलफलमा लागि पेश हुने अवस्था छैन ।
विपक्षी दलहरुले सहमतिमा ६ वटा विधेयकको लागि ६ ओटा मात्रै प्रस्तावमा छलफल हुने हुँदा विपक्षी दलहरुले सहमतिमा सो प्रस्ताव तयार नगरे पहिलो दर्ताका आधारमा ६ ओटालाई छानिने नेकपा एमाले संसदीय सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । प्रतिनिधिसभामा सत्तारुढ कांग्रेस एमालेको मात्रै बहुमत पुगे पनि राष्ट्रियसभामा भने बहुमत पुग्नका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक छ। यो पार्टीले अध्यादेशको स्वीकार गर्ने वा अस्वीकार गर्ने विषयमा कुनै निर्णय गरेको छैन। यद्यपि सो पार्टीले अध्यादेश सकारकात्मक भएपनि ल्याएको बाटो गलत भएको टिप्पणी गरेको छ । यसले उसले अध्यक्षदेशमा समर्थन जनाउने संकेत गरेको छ ।
५९ सदस्सीय राष्ट्रियसभामा कांग्रेसको १६, एमालेको १० गरी २६ जना छन्। बहुमत पुग्न ३० जनाको समर्थन आवश्यक पर्दछ। जसमा मनोनीत वामदेव गौतम र अन्जान शाक्यले अध्यादेशको पक्षमा मतदान गर्ने सत्तापक्षको दाबी छ। यी दुई जनाबाट २८ जना सांसदको समर्थन पुग्दछ। अब आवश्यक दुईजना रहन्छन्।
सत्तापक्षमा रहेको दल लोसपाका एक जना सांसद रहेकाले लोसपाले पनि अध्यादेशको पक्षमा मतदान दिनेछ। यसले अध्यादेशको पक्षमा २९ जना पुग्दछ। राष्ट्रिय जनमोर्चाको एक सिट छ। यो पार्टीले भने अध्यादेशको विपक्षमा मतदान दिने बताएको छ। जनता समाजवादी पार्टीका तिन जना सांसद छन्।
यो पार्टीले निर्णय नगरे २९ जनाको मात्रै पक्षमा मतदान हुने भएकाले अध्यादेश अस्वीकृत हुने सम्भावना देखिएको छ। राष्ट्रियसभामा सत्तापक्षले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन गरेको छ। राष्ट्रियसभाका कांग्रेस प्रमुख सचेतक कृष्णबहादुर रोकायले सत्तापक्षले अनिवार्य उपस्थितिका लागि ह्विप लगाएको बताए।
आजको बैठकमा दाहालले बोल्ने
प्रतिनिनिधिसभाको बिहीबारको बैठकमा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोल्न समय लिएका छन्। तर सत्तारुढ दलका प्रमुख सचेतकले भने पूर्व प्रधानमन्त्री दाहाललाई बिहीबार बस्ने संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेमार्फत नबोल्न सभामुखले बोलाएको बैठकमा आग्रह गरेका थिए। तर पाण्डेले तिन दिनअघि नै समय लिइएको भन्दै अध्यक्ष दाहाल बोल्ने कुरामा अडान कायमै राखेको जानकारी गराएका थिए। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोचपेच गरेर बोलेका कुरालाई अध्यक्ष दाहालले काउन्टर भाषण गर्ने माओवादी केन्द्रका सांसदको दाबी छ।