
साउन २५ आइतबार,हेटौडा । कांग्रेसँगको सत्ता सहयात्री दल नेकपा एमाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई विश्वासको मत लिन ह्विप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले आइतबार सूचना जारी गर्दै साउन २७ गतेको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।
कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा नेपालको संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३(१)अनुसार विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठकअघि दिउँसो १ बजे एमाले संसदीय दलको बैठक दलको कार्यालयमा बस्ने भएकाले सबै सांसदलाई उपस्थित हुन सूचनामा भनिएको छ ।
यसअघि नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ । शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जनले सूचना जारी गर्दै अनिवार्य उपस्थित भई छलफलमा सहभागी हुन निर्देशन दिएका थिए ।कांग्रेसका प्रदेश सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँ आफ्नै दलका ३७ र सत्तासाझेदार एमालेका २७ गरी ६४ सांसदको समर्थनमा सरकार गठन गरेका हुन् ।
११० सदस्यीय बागमती प्रदेश सभामा विश्वासको मत पाउन ५६ मत आवश्यक छ ।तर कांग्रेसका बहादुरसिंह लामा समर्थक १४ सांसदहरुले भने बानियाँले सहमति कायम नगरेको भन्दै साउन २७ गतेसम्म सहमति कार्यान्वयन नभए सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएका छन् ।