
२३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनको माग लिएर अगाडि बढ्ने बताएका छन् ।
भक्तपुर एमालेले गुण्डुमा गरेको कार्यक्रममा ओलीले लोकतन्त्रको पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिए । ‘‘समयमा कदम चाल्न सकिएन भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने हुन्छ । कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनर्स्थापनाको माग गरौंला,’ उनले भने, ‘संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ ।
यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र ? पर्खनुपर्यो फागुन २१ गते ? पर्खनु परेको छैन ।’प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने पनि उनले विश्वास गरे । ‘हामी अगाडि बढ्ने बेला भएको छ । नेपाली जनता आन्दोलनको आँधी तुफान सिर्जना गरेर बढ्नेछ,’ उनले भने ।
सुशीला कार्कीले प्रधानमन्त्री हुन अगाडि अडान लिएकाले प्रतिनिधि सभा विघटन भएको प्रशंग उल्लेख गरे । ‘असंवैधानिक ढंगले संसद् विघटन गरिएको छ । संसद् विघटन गर्ने अधिकार, संविधान मिच्ने अधिकार कसले प्राप्त गर्यो ? कहाँबाट प्राप्त गर्यो ? ’ उनले भने ।
संसद् र संविधान जोगाएर विकल्प दिन सवै पक्षमा सहमति भएपनि असंवैधानिक विघटन गरिएको पनि उनले बताए । ‘संविधान र संसद् कायम राखेर निकास खोजौं, त्यसमा त्यति बेलाको निर्णायक तत्वहरूको पनि सहमति थियो,’ ओलीले भने, ‘मसँग कुरा हुँदा संविधान कायम राख्ने संसद् कायम राख्ने र संविधान र संसद्भित्रबाट निकास खोज्ने सबैको सहमति थियो ।’
तर राजनीतिक दलह्रूलाई पञ्छाएर वार्ता गर्ने, सरकार बनाउनेदेखि संसद् भंग गर्ने काम गरिएको भन्दै अध्यक्ष ओलीले भने । ‘वार्ता सरकारले होइन, सरकारले राजीनामा गर्नुपर्ने ? वार्ता अर्कैले गर्नुपर्ने ? दुनियाँमा कहाँ हुन्छ ? राजनीतिक दलहरू वार्तामा नबस्ने ? ,’ ओलीले भने । प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा कांग्रेसको पनि साथ रहने उनले बताए ।
अध्यक्ष ओलीले सुशीला कार्कीको डरले केपी ओली नभाग्ने समेत चेतावनी दिए, उनले भने मलाई पानीढलको सिमाना दिइएको छ , यो तमासा नभए के हुन्छ ? सुशीला कार्कीको ड्रले केपी ओली भाग्छ ? के सोचेको, ओलीले भने।
अर्को एक प्रशंगामा अध्यक्ष ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ समिति समेत नक्कली भएको भन्दै त्यसलाई अस्वीकार गर्ने चेतावनी समेत दिए ।अध्यक्ष ओलीले गृह मन्त्रीलाई समेत धेरै नचम्कन पनि चेतावनी दिए ।