
– नुवाकोट पुकार समाचारदाता
विदुर । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा विशेष महाधिवेशनका लागि सुरु गरिएको हस्ताक्षर अभियान नुवाकोटमा पनि जारी राखिएको छ ।
यद्यपि हस्ताक्षर अभियान तिब्रताकासाथ अघि बढेपनि संस्थापन पक्ष कुनै पनि हालतमा विशेष महाधिवेन नगर्ने पक्षमा देखिएपछि महामन्त्रीद्धयले युटन् गर्दै नियमित महाधिवेशनका पक्षमा आफूलाई उभ्याईसकेका छन् ।
नुवाकोट पुकारलाई प्राप्त पछिल्लो विवरण अनुसार क्षेत्र नं २ मा हस्ताक्ष्र नगर्नेमा पूर्व जिल्ला सभापति धुर्व अधिकारीसहित चोकराज शाक्य,हरिकृष्ण श्रेष्ठ,बद्रीप्रसाद मुडबरी र श्यामराज पाण्डे रहेका छन् । यसअघि हस्ताक्षर गर्न अनकनाएका डा. प्रकाशशरण महत निकट रहेकाहरु पनि बहादुरसिंह लामाको दवावकाबीच हस्ताक्षर गर्न पुगेका छन् ।
जिल्लामा केसी महत र लामा भन्दा फरक धार निर्माण गर्ने अभियानको नेतृत्व गरेका युवा नेताहरुले पनि हस्ताक्षर गरेर पुरानै नेतृत्वको छत्रछायाँमा फर्किएका छन् । मुख्य रुपमा बहादुरसिंह लामा र उहाँ पक्षका नेता जगतबहादुर लामाको सक्रियतापछि क्षेत्र नं २मा अधिकांश महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्न तयार भएको बुझिएको छ ।
यसअघि डा. प्रकाशशरण महतको समर्थनमा महाधिवेशन निर्वाचित भएका पवित्रा पुडासैनी, रुक्मिणी सेढाई लगायतकाले पनि हस्ताक्षर गरेका छन् । यस्तै केसी पक्षबाट हस्ताक्षर अभियानमा सक्रिय रहेका केशव अर्यालका अनुसार भोलिसम्म क्षेत्र नं २ मा बाँकी नेताहरुको समेत हस्ताक्षर आउने सम्भावना रहेको छ भने क्षेत्र नं १ मा १२ जनाले हस्ताक्षर गरेका छन् ।
थप महाधिवेशन प्रतिनिधिलाई हस्ताक्षर गराउने प्रयास भैरहेको छ । १४ औं महाधिवेशनमा केसी पक्षबाट महाधिवेशन प्रतिनिधि जितेका बाहेक महेन्द्र थिड. लगायतका नेताहरुले समेत हस्ताक्षर गरिसकेका छन् । विशेष महाधिवेशनको हस्ताक्षर अभियानलाई हेर्दा नुवाकोट जिल्लामा कांग्रेसको समिकरण फेरिने सम्भावना बढेको छ ।
पार्टी सभापति शेरबहादुर देउवासँग मुख्यमन्त्रीका कारण चिढिएका लामा समेत यतिखेर महामन्त्री गगन थापाको कित्तामा खुलेर उभिएका छन् । जसले केसी पक्षलाई थप राहत मिलेको छ भने डा. रामशरण महत निकट नेता कार्यकर्ता डा. प्रकाशशरण महत पक्षमा उभिएका छन् ।
तर पार्टी सभापति रमेश महत स्वयम् भने केन्द्रमा शेखर र जिल्लामा डा. प्रकाशशरण महत पक्षमा लागेको देखिन्छ । उनी लामा र महतको समर्थनमा जिल्ला सभापति बनेका थिए । पछिल्लो पटक विकास भएको राजनीतिक परिदृष्य १५ औं महाधिवेशनसम्म जिवित रहेमा नुवाकोट जिल्लामा महत – केसी र लामा पक्षबीच प्रतिस्पर्धा हुुने देखिएको छ ।