सुनसरी घटनापछि प्रधानमन्त्री शाहको अपिल : ‘उत्तेजना र बदलाको भावना रोकौँ, सामाजिक सद्भाव कायम राखौँ’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १३, बुधबार ०८:४४

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनापछि उत्पन्न तनावप्रति दुःख व्यक्त गर्दै सबैलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।


प्रधानमन्त्री शाहले सुनसरीको घटनाक्रमबाट आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई देशको नागरिकका रूपमा पनि दुःखी भएको बताएका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।


घटनाबाट प्रभावित परिवारहरूको दुःख आफूले महसुस गरेको बताउँदै प्रधानमन्त्री शाहले सरकारले पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उनले घटनाका कसुरदारमाथि कानुनबमोजिम कारबाही हुने विश्वाससमेत दिलाएका छन्।


प्रधानमन्त्री शाहले घटनाबाट पाठ सिकेर भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको बताए। घटनाको सुरुदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको भए पनि त्यो पर्याप्त हुन नसकेको उनको स्वीकारोक्ति थियो।

सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान गएको र केही घाइते भएको घटनालाई सामान्य रूपमा लिन नसकिने भन्दै शाहले यसबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिए। अनुसन्धानका आधारमा कानुनबमोजिम कारबाही हुने उनको भनाइ छ।


‘सरकार छ र दोषीमाथि कारबाही हुनेछ’ भन्ने विश्वास नागरिकलाई दिलाउने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री शाहले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिएको बताए। मृतकका परिवार, घाइते तथा घाइतेका परिवारलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाएर चाँडो परिणाम दिने उनको भनाइ छ।


प्रधानमन्त्री शाहले त्यसबेलासम्म सबैलाई उत्तेजना, आक्रोश र बदलाको भावना रोक्न आग्रह गरे। धर्मले पनि यही कुरा सिकाउने उल्लेख गर्दै उनले भने, ‘मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो।’


सरकारको पहिलो दायित्व नागरिकलाई सुरक्षित राख्नु, कसुरदारलाई कारबाही गर्नु तथा पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउनु रहेको उनले बताए।


प्रधानमन्त्री शाहले मनमा रहेको तुष, रिस, डर र आक्रोश हटाउन आग्रह गर्दै उत्तेजित हुने वा गराउने कुनै पनि गतिविधिमा सहभागी नहुन अपिल गरे। उनले सबैलाई सुरक्षित र संयमित भएर बस्न, एकअर्कालाई प्रेम र सम्मान गर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *