
विदुर । तारकेश्वर गाउँपालिका भित्रको विद्यालयका करिब २ सय ६० शिक्षकलाई अन्तरविद्यालय सरुवा गरिने भएको छ । आज बसेको गाउँपालिकाको शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय आगामी भदौं १५ देखि लागू हुने गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिनुभयो ।
यस्तै आजको बैठकले काजमा रहेका शिक्षकहरुको दरबन्दीसहित पदस्थापना गर्ने तथा दरबन्दी मिलान गर्ने निर्णय पनि गरेको छ। गुणस्तरीय शिक्षा पालिकाको पहिलो प्राथमिकताको विषय भएकाले सोही कुरालाई मध्यनजर गर्दै पालिकाले विभिन्न नीतिहरु अबलम्बन गरेको जानकारी दिनुभयो । शिक्षाको गुणस्तरमा कुनै कम्परमाइज हुन नदिने उहाँको भनाई छ । विद्यालयको उक्त निर्णयप्रति घरपाएक भएका शिक्षकहरुलाई भने असहज हुने भएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलका अनुसार गाउँपालिका भित्र मावि देखि इसीडी कक्षासम्म जम्मा ३४ वटा विद्यालय रहेका छन् । जसमा माध्यमिक विद्यालय ७ वटा, निमावि ६ वटा, प्रावि को कक्षा १ देखि ५ सम्मको ६ वटा, १ देखि ३ सम्मको १४ वटा र एउटा इसीडी विद्यालय रहेका छन् ।
विद्यालयमा शिक्षक र विद्यार्थीबीच आसपी सौभाद्रता कायम गर्नुका साथै शिक्षा क्षेत्रमा विद्यालयलाई चलायमान बनाउन लागि पालिकाले यस्तो निर्णय गरेको अध्यक्ष अधिकारीले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो । सामुदायिक विद्यालयका शिक्षकहरु घरपाएर बस्ने गरेका कारण पनि विद्यालयको गुणस्तरमा समस्या आउने र विद्यार्थीले आफ्नै गाउँको शिक्षक भनेर हेप्ने गरेको भन्दै शिक्षकहरुलाई पनि निजामति कर्मचारी जस्तै दुई दुई वर्षमा अन्र्तरविद्यालय सरुवा गर्नुपर्ने माग उठ्दै आएको थियो । यद्यपि पालिकाको उक्त निर्णयप्रति शिक्षकहरुले भने असन्तुष्टि जनाएका छन् ।