
विदुर । संघीय सरकार मातहत रहेका ठुला अस्पतालबाट सर्वसाधारणले नि ः शुल्क सेवा पाउने भएपछि बागमती प्रदेश सरकारले पनि आफु मातहतका अस्पतालहरुलाई निःशुल्क सेवा दिन निर्देशन गरेको छ । प्रदेश मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशका १३ अस्पतालमा क्याबिन र आइसियुबाहेक सबै शय्या निःशुल्क सेवा दिन निर्देशन दिनुभएको छ
। मुख्यमन्त्रीले सार्वजनिक रुपमा दिनुभएको निर्देशनसँगै आउँदो भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क गर्नुपर्ने भएको छ । मुख्यमन्त्रीको निर्देशपछि प्रदेशको स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै निःशुल्क बिरामी भर्ना गर्न प्रदेश मातहतका अस्पतालहरूलाई निर्देशन दिएको छ । ती अस्पतालका क्याबिन, एन आइसियु र आइसियुबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ ।
प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका आठ सय ११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न मन्त्रालयले पत्राचार गरेको छ । सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्ग (वर्ग क र ख), विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्ने प्रदेशका स्वास्थ्य मन्त्रीको मन्त्री स्तरीय निर्णय गरिएको मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले बताउनुभयो । भदौ १ गतेदेखि १३ वटा अस्पतालमा रहेका सामान्य शय्याहरू निःशुल्क उपलब्ध गराउने भएको हो ।
प्रदेश मातहतमा रहेको जिल्ला अस्पतालमा रहेका करिब आठ सय शय्याबाट सर्वसाधारणले निःशुल्क सेवा पाउनेछन् । सरकारको निदेश्न अनुसार अस्पतालहरुले भने आफूसँग सेवा सुविधाहरु कम भएको गुनासो गर्दै आएका छन् । कतिपय अस्पतालहरुले भने आवश्यक चिकित्सक तथा कर्मचारीको अभाव हँदै आएको गुनासो गरेका छन् । सरकारले सेवा निःशुल्क सँगै अब कर्मचारी र अन्य सेवाको व्यवस्थापन गरेमात्रै सर्वसाधारणले सरकारले दिने सेवालाइृ सहज रुपमा लिन सक्नेछन् र त्यसको औचित्य पनि पुष्टि हुनेछ ।