टिमुरेदेखि कोल्पुटारसम्म बाढीले उद्योग–व्यवसाय तहसनहस, सहयोगका लागि उद्योग वाणिज्य संघको अपिल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १४, आईतवार १२:११

नुवाकोट । भदौ १० गते तिब्बततर्फबाट आएको भोटेकोशी नदीको अकल्पनीय बाढीका कारणरसुवाको टिमुरे र नुवाकोटको बेत्रावतीदेखि कोल्पुटारसम्म र धादिङ हुँदै चितवनसमम सयौँ घर, उद्योग तथा व्यवसायमा ठूलो क्षति पुगेको छ। बाढीले घर तथा व्यापारिक संरचनासँगै होटल, लज, खाद्यान्न पसल, फलफूल तथा तरकारी व्यवसायलगायत स्थानीय आर्थिक गतिविधिमा गम्भीर असर पुर्‍याएको छ।


बेत्रावती, भैँसे, त्रिशूली, ढुंगे, देवीघाट हुँदै कोल्पुटारसम्मका नदी आसपासका बजार तथा बस्तीमा बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन्। बाढीका कारण सडक, पुल, विद्युत् तथा सञ्चार संरचनासमेत क्षतिग्रस्त हुँदा प्रभावित क्षेत्रको व्यापारिक गतिविधि थप प्रभावित बनेको छ।

जसका कारण नुवाकोट उद्योग वाणिज्य संघले बाढीपीडित तथा क्षतिग्रस्त उद्योग–व्यवसायीका लागि सहयोग गर्न अपिल गरेको छ। संघले जारी गरेको अपिलमा बाढीका कारण नुवाकोट, रसुवा र धादिङलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको भन्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।


संघले बाढी तथा पहिरोका कारण जनजीवन अस्तव्यस्त हुनुका साथै सडक, पुल, विद्युत्, सञ्चार, कृषि, उद्योग तथा व्यवसायिक संरचनामा ठूलो क्षति पुगेको जनाएको छ। यस्तो कठिन परिस्थितिमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्दै जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा घाइतेको उपचारमा संघले आफ्नो तर्फबाट सहयोग गरिरहेको जनाएको छ।


“यस अकल्पनीय प्राकृतिक विपत्तिबाट उद्योगी व्यवसायीहरूले आफ्नो व्यवसाय तथा जीवन गुमाउनुपरेको छ,” संघले भनेको छ, “सार्वजनिक तथा निजी भौतिक संरचना गुमाउनुपरेको यस विपद्मा आर्थिक तथा भौतिक सहयोगका लागि हार्दिक अपिल गर्दछौँ।”
संघले सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई नुवाकोट उद्योग वाणिज्य संघको नाममा रहेको प्रभु बैंक, नुवाकोट बट्टार शाखाको खातामार्फत सहयोग गर्न आग्रह गरेको छ। संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले विपत्तिबाट प्रभावित उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई पुनः सामान्य अवस्थामा फर्काउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।


भोटेकोशी–त्रिशूली बाढीबाट नुवाकोटमा घर, बजार, सडक, पुल, कृषि, उद्योग तथा व्यवसायमा व्यापक क्षति पुगेको र क्षतिको पूर्ण विवरण संकलनको क्रममा रहेको छ।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *