सुभेनियरमा अध्ययनरत भाेटेकाेशी बाढीपीडित विद्यार्थीलाई पूर्वविद्यार्थी विक्रम खातीद्वारा जाडोको ज्याकेट सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १६, सोमबार १३:५०


विदुर । रसुवा हुँदै त्रिशूली नदीमा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीलाई लक्षित गर्दै शुभेनियर बोर्डिङ स्कुलका पूर्वविद्यार्थीले जाडोको ज्याकेट सहयोग गरेका छन्।

विद्यालयको एसइई ब्याच २०६२ का पूर्वविद्यार्थी विक्रम खातीले बाढी प्रभावित विद्यार्थीका लागि साेही विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयको जाडोको ज्याकेट सहयोग गरेका हुन्। चिसो मौसममा बाढीपीडित विद्यार्थीलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको विद्यालयका प्रिन्सिपल तारा कार्कीले जानकारी दिए।


भोटेकोशी बाढीपछि शुभेनियर बोर्डिङ स्कुलमा करिब एक सय जना विद्यार्थी बाढी प्रभावित परिवारबाट आश्रित तथा अध्ययनरत रहेको प्रिन्सिपल कार्कीले बताए। विपत्तिका कारण प्रभावित विद्यार्थीको दैनिकी सहज बनाउन पूर्वविद्यार्थी खातीबाट भएको सहयोग महत्वपूर्ण रहेको उनको भनाइ छ।


आफूले अध्ययन गरेको विद्यालय र त्यहाँ अध्ययनरत भाइबहिनीप्रति पूर्वविद्यार्थी खातीले देखाएको माया, सद्भाव, सहयोग र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार यो सहयोग केवल जाडोको ज्याकेटमा सीमित नभई विपद्को कठिन अवस्थामा विद्यार्थीलाई माया, साथ र भरोसाको न्यानो उपहार बनेको छ।


यसअघि भोटेकोशी बाढी तथा त्यसपछिको विपद्का कारण नुवाकोट र रसुवाका विभिन्न विद्यालयमा अध्ययनरत हजारौँ विद्यार्थी प्रभावित भएका छन् भने ठूलो मानवीय क्षति समेत भएको छ। यस्तो कठिन परिस्थितिमा विपत्तिमा परेका विद्यार्थी तथा परिवारलाई व्यक्तिगत, संस्थागत र सामाजिक क्षेत्रबाट गरिने सहयोगले पीडितको जीवनमा ठूलो राहत पुर्‍याउने देखिन्छ।


विद्यालयले पूर्वविद्यार्थी विक्रम खातीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालय तथा विद्यार्थीप्रतिको यस्तो आत्मीयता र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *