नुवाकोट । नुवाकोटको जिलिङका स्थायी बासिन्दा तथा हाल किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत केदार प्रसाद अर्थात केपी खतीवडाको शब्दमा तयार भएको नयाँ नेपाली गजल गीत ‘आँखामा बसेको मान्छे’ सार्वजनिक भएको छ।
प्रशासनिक सेवामा सक्रिय खतीवडाले आफ्नो व्यस्त जिम्मेवारीका बीच गीत–संगीतप्रतिको रुचिलाई समेत निरन्तरता दिँदै आएका छन्। उनको सिर्जनामा तयार भएको ‘आँखामा बसेको मान्छे’ मा चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर र संगीत रहेको छ।
प्रेम, भावना र आत्मीय सम्बन्धलाई गजलको मिठासमा प्रस्तुत गरिएको गीतमा थानेश्वर गौतमको सुमधुर स्वर थपिएपछि गीत अझै रोमान्टिक र भावनात्मक बनेको छ। खतीवडाको शब्द र गौतमको स्वर–संगीतको संयोजनले गीतलाई श्रोतामाझ आकर्षक बनाएको छ।
गीतको भिडियोमा सुरेश कोहली र सम्पदा अमगाईंले अभिनय गरेका छन्। उनीहरूको प्रस्तुति तथा गीतको भावनात्मक कथ्यले भिडियोमा प्रेम र अनुभूतिलाई थप जीवन्त बनाएको छ।
‘आँखामा बसेको मान्छे’ का शब्द केपी खतीवडाले लेखेका हुन् भने संगीत तथा स्वर थानेश्वर गौतमको रहेको छ। गीत जननी नेपालको प्रस्तुतिमा सार्वजनिक गरिएको हो। यसको मौलिक रिलिज थानेश्वर गौतमको आधिकारिक युट्युब च्यानलमार्फत गरिएको छ।
प्रशासनिक सेवामा जिम्मेवारी सम्हाल्दै साहित्य र सिर्जनाको क्षेत्रमा समेत सक्रिय खतीवडाको यो प्रयासले उनको बहुआयामिक व्यक्तित्वलाई प्रस्तुत गरेको छ। सरकारी सेवासँगै सिर्जनात्मक क्षेत्रमा पनि निरन्तरता दिइरहेका खतीवडाको गीतले नुवाकोटको स्थानीय प्रतिभा र सिर्जनशीलतालाई समेत राष्ट्रिय संगीत क्षेत्रमा जोड्ने अपेक्षा गरिएको छ।
गीत सार्वजनिक भएसँगै ‘आँखामा बसेको मान्छे’ ले नेपाली गजल तथा संगीतप्रेमी श्रोतामाझ चर्चा बटुल्ने विश्वास गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्