नुवाकोट । नेपाली कांग्रेस बेलकोटगढी नगर कार्यसमितिले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न गर्दै संगठन सुदृढीकरण, पार्टी कार्यालय निर्माण तथा वडा र टोल तहसम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ।
नगर सभापति प्रल्हादप्रसाद थपलियाको सभापतित्वमा २०८३ साल कार्तिक १५ गते बाघखोर, नुवाकोटमा बसेको बैठकले विभिन्न समसामयिक तथा संगठनात्मक विषयमा छलफल गरी महत्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकले बेलकोटगढीका नेता कृष्णप्रसाद पाण्डेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेको छ।
त्यस्तै, नगर कार्यसमितिलाई सर्वसम्मत रूपमा निर्वाचित गराउन सहयोग गर्ने क्षेत्रीय प्रतिनिधि, नेता, अग्रज, क्रियाशील सदस्य, शुभेच्छुक तथा शुभचिन्तकप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त विश्वासलाई संगठन सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धता जनाएको छ। अधिवेशन प्रक्रियामा सहभागी हुन नसकेका, असन्तुष्ट रहेका वा संगठनात्मक यात्राबाट टाढिएका साथीहरूलाई समेत संवाद र सहकार्यका माध्यमबाट समेट्ने निर्णय बैठकले गरेको छ।
बैठकले विजया दशमी, दीपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा नगरवासी, पार्टीका नेता–कार्यकर्ता, क्रियाशील सदस्य, प्रतिनिधि तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना पनि व्यक्त गरेको छ।
आफ्नै पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा खोजिने
नगर कार्यसमितिले बेलकोटगढीमा नेपाली कांग्रेसको आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ। त्यसका लागि बाघखोर क्षेत्रमा जग्गा प्राप्तिका लागि इच्छुक जग्गादाताको खोजी तथा समन्वय गर्ने निर्णय गरिएको छ।
इच्छुक महानुभावलाई स्वेच्छाले जग्गादानका लागि आह्वान गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी जग्गा प्राप्तिको काम अघि बढाउने निर्णय बैठकले गरेको हो।
सबै वडामा पार्टी कार्यालय स्थापना गरिने
संगठनलाई वडा तहसम्म व्यवस्थित र प्रभावकारी बनाउन बेलकोटगढी नगरपालिकाका सम्पूर्ण वडामा नेपाली कांग्रेसका वडा कार्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।
सम्बन्धित वडा सभापति तथा वडा कार्यसमितिले आवश्यक स्थान र आधारभूत पूर्वाधारको व्यवस्थापन गरी नगर कार्यसमितिसँग समन्वय गर्ने तथा वडा तहका बैठक, छलफल र संगठनात्मक गतिविधिलाई नियमित बनाउने निर्णय गरिएको छ।
टोल तहसम्म संगठन विस्तार
बैठकले पार्टी संगठनलाई जनताको घरदैलोसम्म पुर्याउने उद्देश्यले नगरपालिकाका सम्पूर्ण वडाअन्तर्गतका टोलमा टोल कार्यसमिति गठन गर्ने निर्णय गरेको छ।
टोल कार्यसमिति गठन गर्दा सम्बन्धित महाधिवेशन प्रतिनिधिको प्रतिनिधित्व तथा प्रदेश प्रतिनिधि र नगर कार्यसमिति सदस्यको रोहबरमा सम्बन्धित वडा कार्यसमितिले आवश्यक छलफल, समन्वय र सहमतिका आधारमा समिति गठन गर्ने व्यवस्था गरिएको छ।
गठन भएका टोल कार्यसमितिलाई नियमित रूपमा सक्रिय बनाउँदै संगठन विस्तार, सदस्यता अभिवृद्धि, जनसम्पर्क तथा पार्टी गतिविधिमा सहभागिता बढाउने निर्णयसमेत बैठकले गरेको छ।
नयाँ कार्यसमितिको पहिलो बैठकबाटै पार्टी कार्यालय निर्माण, वडा कार्यालय स्थापना र टोल तहसम्म संगठन विस्तारलाई प्राथमिकतामा राखिएपछि बेलकोटगढी कांग्रेसले आगामी दिनमा संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउने संकेत गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्