बेलकाेटगढी । रसुवा हुँदै नुवाकोटका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट बेलकोटगढी नगरपालिका पनि गम्भीर रूपमा प्रभावित भएको छ। विशेषगरी बेलकोटगढी नगरपालिका–५, ७ र ८ का विभिन्न बस्तीमा बाढीले घर, खेतबारी, पशुपन्छी तथा स्थानीय पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
बेलकोटगढी–७ स्थित ठूलो खोला क्षेत्रमा प्रत्यक्ष पुगेर प्रभावित नागरिकको अवस्था अवलोकन गरेका किशोर ओलीले बाढीबाट भएको क्षति अत्यन्तै पीडादायी रहेको बताएका छन्। उनका अनुसार कतिपय परिवारका घर पुरिएका छन् भने खेतीयोग्य जमिनमा क्षति पुगेको छ। पशुपन्छी जोखिममा छन् भने प्रभावित परिवारहरू अहिले पनि आधारभूत आवश्यकताको संघर्षमा छन्।
बाढीबाट प्रभावित क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सामाजिक संस्था, व्यवसायी र नागरिकस्तरबाट राहत तथा सहयोग पुगिरहेको भए पनि क्षतिको व्यापकता र नागरिकको आवश्यकताको तुलनामा हालसम्मको सहयोग पर्याप्त नभएको ओलीको भनाइ छ।
उनले राहत पुगेन भनेर निराशा फैलाउनुभन्दा उपलब्ध राहतलाई व्यवस्थित र प्रभावकारी रूपमा सबैभन्दा बढी प्रभावित परिवारसम्म पुर्याउनुपर्नेमा जोड दिएका छन्।
ओलीले विपद्को यो घडीमा राजनीतिक श्रेयको प्रतिस्पर्धा गर्नुभन्दा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। नागरिकको पीडा कुनै सरकारको तहअनुसार फरक नहुने भन्दै उनले तीनै तहका सरकारले स्रोत, साधन र जनशक्तिको समन्वित परिचालन गर्नुपर्ने बताएका हुन्।
उनका अनुसार अहिले तत्काल राहतसँगै प्रभावित परिवारको पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ। बाढीबाट घर तथा खेतीयोग्य जमिन गुमाएका परिवारको जीविकोपार्जन पुनःस्थापना, कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको सम्बोधन, सुरक्षित बस्ती विकास तथा सडक, पुल र खानेपानीलगायतका पूर्वाधारको पुनर्निर्माणमा दीर्घकालीन योजना आवश्यक रहेको उनले बताएका छन्।
‘कसले कति राहत बाँड्यो’ भन्नेभन्दा पनि वास्तविक पीडितसम्म पर्याप्त राहत पुग्यो कि पुगेन भन्ने विषय महत्वपूर्ण रहेको ओलीको भनाइ छ। त्यसैगरी बजेट घोषणा गर्नेभन्दा पीडित परिवारले आफ्नो जीवन पुनः उभ्याउन कति सहयोग पाए भन्ने कुरालाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।
बेलकोटगढी–५, ७ र ८ का प्रभावित क्षेत्रको अवस्थालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिँदै ओलीले विपद्लाई कुनै दल वा सरकार विशेषको विषय नबनाई राज्यको सामूहिक उत्तरदायित्वका रूपमा लिनुपर्ने बताएका छन्।
उनले अहिले ‘मैले गरेँ’ भन्ने प्रतिस्पर्धाभन्दा ‘हामीले मिलेर गर्यौँ’ भन्ने संस्कार आवश्यक रहेको बताए। राहत वास्तविक पीडितको घरसम्म पुर्याउँदै प्रभावित परिवारको जीवन र जीविकोपार्जन पुनःस्थापना गर्न संघ, प्रदेश र स्थानीय सरकार तथा सबै सरोकारवाला निकाय एकजुट हुनुपर्ने उनको भनाइ छ।

वली नुवाकोट पुकार बेलकाेटगढीका समाचारदाता तथा लेखक हुन्
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्