भोटेकोशी बाढीपछि नमस्ते पासाङल्हामु यातायातका १८ सवारीसहित चालक–यात्रु सम्पर्कविहीन, खोजीका लागि सरकारसँग अपिल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १४, आईतवार १५:५५

नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोट र रसुवामा यातायात सञ्चालन गर्दै आएको नमस्ते पासाङल्हामु यातायात प्रालिका १८ वटा सवारीसाधन तथा ती सवारीमा रहेका चालक, सहचालक र यात्रुहरू सम्पर्कविहीन भएको भन्दै कम्पनीले खोजी तथा उद्धारका लागि सरकार र सुरक्षा निकायसँग अपिल गरेको छ।


कम्पनीले बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी, शान्तिबजार, बेत्रावती, उत्तरगया, भैँसे, त्रिशूली, ढुंगे, देवीघाटलगायत क्षेत्रमा सडक तथा यातायात सम्पर्क अवरुद्ध भएको जनाएको छ। बाढीका कारण आफ्ना सवारीसाधन र त्यसमा रहेका मानिसहरूसँग सम्पर्क हुन नसकेको भन्दै सम्बन्धित निकायमार्फत तत्काल खोजी तथा उद्धारको पहल गर्न कम्पनीले आग्रह गरेको हो।


कम्पनीका अनुसार सम्पर्कविहीन सवारीसाधनमा बा ५ ख ६२०१, बा ३ ख ९२०६, बा ३ प्र ०१-००६ ख १५८२, बा ३ प्र ०१-००६ ख ५६६५, बा ३ प्र ०१-००३ ख ०१९०, बा ५ ख ९०५५, बा ३ प्र ०१-००६ ख ५२११, बा ३ प्र ०१-००५ ख ९१५४, बा ५ ख ७६९२, बा ३ प्र ०१-००५ ख ९१५४ लगायत १८ वटा सवारी रहेका छन्।


कम्पनीले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा घाइतेको उपचारका लागि आवश्यक व्यवस्था गर्नसमेत आग्रह गरेको छ। साथै सम्पर्कविहीन सवारीसाधनमा कार्यरत कर्मचारी तथा यात्रुको खोजीका लागि नेपाल सरकार र सुरक्षा निकायसमक्ष विशेष पहल गरिदिन अनुरोध गरेको पत्रमा उल्लेख छ।


कम्पनीले विपद्को अवस्थामा सडक तथा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएकाले आफ्ना सवारीसाधन र यात्रुको अवस्थाबारे तत्काल जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *