नुवाकोट । भोटेकोशी बाढीका क्रममा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका १ हजार ६ सयभन्दा बढी विद्यार्थीको समयमै उद्धार गरी ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेका प्रधानाध्यापक राजेन्द्र दवाडीको चर्चा भइरहेका बेला नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दवाडीसँग भेटघाट गरेका छन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली क्षेत्रमा ठूलो जनधनको क्षति हुँदा विद्यालयतर्फ बाढीको जोखिम बढेको थियो। त्यस अवस्थामा प्रधानाध्यापक दवाडीले शिक्षक तथा विद्यालय प्रशासनको समन्वयमा विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न सक्रियता देखाएका थिए।
राजदूत श्रीवास्तवले दवाडीको नेतृत्व र तत्परताको प्रशंसा गर्दै बाढीका क्रममा विद्यार्थीको जीवन जोगाउन खेलेको भूमिकाप्रति सम्मान व्यक्त गरेका छन्।
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको नयाँ भवन सन् २०२२ मा भारतीय सरकारको अनुदानअन्तर्गत सञ्चालित उच्च प्रभावयुक्त सामुदायिक विकास कार्यक्रममार्फत निर्माण गरिएको हो।
भेटका क्रममा राजदूत श्रीवास्तवले बाढीबाट विद्यालयमा परेको क्षतिप्रति चासो व्यक्त गर्दै आगामी दिनमा विद्यालयको पुनर्निर्माण तथा आवश्यक सहयोगका लागि भारत सरकार सकारात्मक रहेको जानकारी गराएका छन्।
बाढीका बेला सयौँ विद्यार्थीलाई सुरक्षित स्थानमा पुर्याउँदै ठूलो मानवीय क्षति हुनबाट जोगाएका प्रधानाध्यापक दवाडीको कार्यलाई अहिले स्थानीय स्तरमा मात्रै नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रशंसा गर्न थालिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्