मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक : भोटेकोशी बाढीपीडितलाई राहतदेखि राष्ट्रिय शोकसम्म

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १८, बिहीबार १६:५८


काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका ७ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।


बैठकले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहत, प्रभावित उद्योग–व्यवसायको पुनःस्थापना, चिनी आयात, सुरक्षाकर्मी तथा राष्ट्रसेवकलाई राहत, सार्वजनिक बिदा र राष्ट्रिय शोक लगायतका विषयमा निर्णय गरेको छ।


मन्त्रिपरिषद्का निर्णयहरू यसप्रकार छन् :
१. एडीबीको ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने
एसियाली विकास बैंक (एडीबी) बाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।
२. बाढी प्रभावित उद्योग–व्यवसायलाई सहुलियत दिने
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यवसाय पुनर्स्थापना योजना अन्तर्गत राहत, कर तथा महसुललगायत अन्य सहुलियत तथा सुविधा उपलब्ध गराउने निर्णय गरिएको छ।


३. २५ हजार मेट्रिकटन चिनी आयात गर्ने
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कुल २५ हजार मेट्रिकटन चिनी १ प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।


४. उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता तथा राहत
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरिएको छ। त्यस्तै, उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।


५. भदौ २३ गते सार्वजनिक बिदा
विसं २०८३ साल भदौ २३ गते ‘जेनजी शहीद दिवस’ का अवसरमा नेपालभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।


६. भदौ २२ गते राष्ट्रिय शोक मनाउने
विसं २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको सम्मानमा घटना भएको १३औँ दिनको पुण्यतिथिका दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरिएको छ।


सो दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरिएको छ।


७. नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको मुख्यसचिवमा पदस्थापन नेपाल प्रशासन सेवा, समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गर्ने निर्णय गरिएको छ। उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको मुख्यसचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरिएको छ।


सरकारले पछिल्लो समय भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको व्यवस्थापन, प्रभावितको राहत तथा पुनःस्थापना र उद्धारमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीको सुरक्षा र सुविधालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *