भोटेकोशी बाढीपीडितका लागि अमृत स्कुल/कलेजद्वारा १ लाख २४ हजार सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १८, बिहीबार २१:१६

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि अमृत स्कुल/कलेजले रु. १ लाख २४ हजार सहयोग गरेको छ।


यही भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै विद्यालयले मानवीय सहयोगस्वरूप उक्त रकम सङ्कलन गरेको हो।


सेन्ट्रल प्याब्सन तथा काठमाडौं जिल्ला प्याब्सनको योजनाअनुसार विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, अध्ययनरत विद्यार्थी र विद्यालयको समेत योगदानबाट रु. १ लाख २४ हजार सङ्कलन गरिएको विद्यालयले जनाएको छ।


सङ्कलित रकम प्याब्सन काठमाडौं वेलफेयर फन्डमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने व्यवस्था गरिएको छ।


विद्यालयले बाढीका कारण बेपत्ता भएका व्यक्तिहरूको शीघ्र तथा सकुशल उद्धारको कामना गर्दै विपद्को यस विषम परिस्थितिमा पीडित परिवारलाई आशा, साहस र भरोसा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


मानवीय सहयोगमा साथ दिने शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण महानुभावहरूप्रति विद्यालयले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *