
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागमती प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । आज बिहान ११ बजे राजधानीको राष्ट्यि सभागृहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोबोटको माध्यमबाट उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रमस्थलमा पुग्नुअघि काठमाडौंको ६ स्थानबाट बाजागाजा र झाँकीसहितको जुलुस रत्नपार्क, बागबजार हुँदै भृकुटीमण्डपमा पुगेर उद्घाटन सभामा परिणत हुने छ । अधिवेशनका लागि बागमती प्रदेशका १३ जिल्ला र ११९ पालिकाबाट ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् ।

आज उद्घाटन हुने र र सहमति गराउने प्रयास हुनेछ । नेताहरुबीच सहमति नभएको खण्डमा भने निर्वाचनमार्फत प्रतिस्पर्धा गराउने तयारी समेत भएको छ । निर्वाचनका लागि इलोक्ट्रोनिक भोटिङ मेसिन समेत तयारी अवस्थामा राखिएको छ । प्रथम अधिवेशन भएको र कार्यकारी भूमिकामा रहन पाउने हुनाले पार्टीमा नाम चलेका नेतचाहरु अध्यक्षका लागि दावेदार देखिएका छन् । हालसम्म अध्यक्षमा चारजना नेता मुख्य प्रतिस्पर्धी देखिएका छन् । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि अहिलेसम्म करिब डेढ दर्जनले आकांक्षा राखेर आन्तरिक लबिङ सुरु गरेका छन् ।
हाल अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले नेतृत्वका लागि दाबी गर्दै आएका छन् । उनीहरुले अध्यक्ष केपी ओली तथा अन्य दोस्रो तहका नेताहरुसम्म लबिड. गरिरहेका छन् ।
अध्यक्षका दाबेदारमध्ये काठमाडौंबाट प्रतिनिधि बनेका बागमतीका पूर्वसभामुख श्रेष्ठ पूर्वपोलिटब्युरो सदस्य हुन् । नुवाकोटका पाण्डेले तदर्थ कमिटीको नेतृत्व गरेकाले पुनः निर्वाचित अध्यक्षका लागि आकांक्षा राखेका छन् । उनकै नेतृत्वमा अधिवेशन सम्पन्न हुदैछ । केन्द्रीय सदस्यद्वय ढुंगेल रामेछाप र दाहाल गृहजिल्ला मकवानपुरबाट प्रतिनिधि छनोट भएर आएका छन् ।
आकांक्षी चारमध्ये अन्तिममा भने दुईजनाबीच मात्रै मुख्य प्रतिस्पर्धा हुने एमाले वृत्तमा चर्चा छ । ९ असोजमा सम्पन्न हुने अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको छ । समावेशितालाई पनि ध्यान दिएर भूगोल र खुलासहित विभिन्न समूहबाट सदस्य निर्वाचित गर्ने तयारी रहेको तदर्थ समितिका अध्यक्ष ताथ महाधिवेशन आयोजक कमिटिका अध्यक्ष केशव पाण्डेले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो ।
अधिवेशनका लागि सक्रिय सहभागिता जनाउन नेताहरुले सार्वजनिक रुपमा नेता कार्यकर्तालाई अपिल समेत गरेका छन् । यस्तै नुवाकोटबाट छानिएका प्रतिनिधि तथा नेता कार्यकर्ताहरु राजधानीको दरबारमार्गनजिक रहेको बाल्मिकि छात्रबासबाट जुलुससहित कार्यक्रमस्थल जाने तयारी गरिएको पार्टी अध्यक्ष बद्री मैनालीले सार्वजनिक गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ । मैनालीले पार्टीका सबै नेता कार्यकर्तालाई उपस्थिति हुन अपिल समेत गर्नुभएको छ ।