बाढी प्रभावित विद्यालय पुनः सञ्चालनमा सहकार्य गर्न विदुर प्याब्सनको आग्रह(ध्यानाकर्षणपत्रसहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २६, शुक्रबार १५:३५

नुवाकोट । त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त विद्यालयहरूको पुनः सञ्चालन तथा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन आवश्यक सहयोग र समन्वयका लागि विदुर प्याब्सनले विदुर नगरपालिकासँग आग्रह गरेको छ।


विदुर प्याब्सनका अध्यक्ष रामराजा कुमालद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षणपत्र नगर प्रमुखको कार्यालयसँगै उपप्रमुख प्रभा बोगटी र शिक्षा शाखा प्रमुखलाई समेत बुझाइएको हो।

यसै सन्दर्भमा, विदुर नगरपालिकाका नगर प्रमुखज्यूले सम्बन्धित विद्यालयहरूलाई वर्तमान परिस्थितिमा नगरपालिकासँग आवश्यक समन्वय र सहकार्य गरी अघि बढ्न अनुरोध गर्नुभएको छ।


बाढीका कारण विदुर नगरपालिका क्षेत्रभित्रका त्रिशूली सामुदायिक बोर्डिङ स्कुल, उत्तरगया पब्लिक बोर्डिङ स्कुल र त्रिभुवन त्रिशूली सामुदायिक विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको उल्लेख गर्दै प्याब्सनले यस्तो अवस्थामा विद्यालय सञ्चालनका लागि व्यवहारिक र सुरक्षित योजना आवश्यक रहेको जनाएको छ।


नगरपालिकाले विद्यार्थीहरूको पठनपाठनलाई निरन्तरता दिने उद्देश्यले विद्यालय सञ्चालनका लागि गरेको पहललाई सकारात्मक रूपमा लिँदै प्याब्सनले पूर्ण रूपमा क्षति भएका विद्यालयको वर्तमान अवस्था, विद्यार्थी तथा शिक्षकको सुरक्षा, वैकल्पिक स्थान र आवश्यक पूर्वाधारको उपलब्धताका आधारमा सञ्चालनको योजना बनाउनुपर्नेमा जोड दिएको छ।


प्याब्सनले प्रभावित विद्यालयहरूका लागि वैकल्पिक भवन वा अस्थायी सिकाइ केन्द्रको व्यवस्था, फर्निचर तथा शैक्षिक सामग्रीको सहयोग, विद्यार्थी र शिक्षकको सुरक्षा तथा विद्यालय पुनःस्थापनाका लागि आवश्यक सहयोग तत्काल उपलब्ध गराउन नगरपालिकासँग आग्रह गरेको छ।


ध्यानाकर्षणपत्रमा विपद्को समयमा स्थानीय सरकार, विद्यालय व्यवस्थापन र सरोकारवाला संस्थाबीच अझ प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरिएको छ। प्रभावित विद्यालयहरूको स्थलगत निरीक्षण गरी वास्तविक क्षतिको मूल्याङ्कन तथा सम्बन्धित विद्यालय र विदुर नगर प्याब्सनसँग छलफल गरेर पुनः सञ्चालनको ठोस योजना बनाउन पनि आग्रह गरिएको छ।


प्याब्सनले विपद्का कारण प्रभावित विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकलाई स्थानीय सरकार आफ्नो साथमा रहेको अनुभूति हुने गरी आवश्यक सहयोग र संरक्षण प्रदान गर्नुपर्ने बताएको छ।


विद्यालय पुनः सञ्चालनको विषयलाई केवल शैक्षिक गतिविधि सञ्चालनका रूपमा नभई विद्यार्थीको सुरक्षा, सिकाइको निरन्तरता र प्रभावित शैक्षिक संस्थाको पुनःस्थापनासँग जोडेर अघि बढाउनुपर्ने प्याब्सनको धारणा छ।


नगरपालिका र सम्बन्धित विद्यालयबीच सहकार्य र समन्वयबाट प्रभावित विद्यालयलाई सुरक्षित तथा व्यवस्थित रूपमा पुनः सञ्चालन गर्न सकिने विश्वाससहित प्याब्सनले यस विषयमा नगरपालिकाबाट यथाशीघ्र आवश्यक पहल हुने अपेक्षा गरेको छ।

साे अवसरमा, नगर प्रमुख श्रेष्ठले सम्बन्धित विद्यालयहरूलाई वर्तमान परिस्थितिमा नगरपालिकासँग आवश्यक समन्वय र सहकार्य गरी अघि बढ्न अनुरोध गर्नुभएको छ।

Oplus_131072

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *