काठमाडौँ । हिन्दू धर्मावलम्बी महिलाले आज देवादिदेव महादेवको पूजा–आराधना गर्दै हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिमा हरितालिका तीजको व्रत बस्ने धार्मिक परम्परा रहँदै आएको छ।
विवाहित महिलाले पतिको दीर्घायु, सुख–शान्ति तथा पारिवारिक कल्याणको कामना गर्दै र अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनासहित व्रत बस्ने चलन छ। शास्त्रीय रूपमा महिला र पुरुष दुवैले यो व्रत गर्न सक्ने भए पनि सामाजिक रूपमा भने महिलाले व्रत बस्ने परम्परा बढी प्रचलित छ।
भाद्र शुक्ल तृतीयाका दिन शिव–पार्वतीको पूजा तथा उपासना गर्नाले सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। यस अवसरमा महिलाहरू समूहमा भेला भएर पूजा–आराधना गर्नुका साथै तीजका गीत गाउँदै नाचगान गर्ने गर्छन्। तीजका गीतमा धार्मिक आस्था, पारिवारिक सम्बन्धसँगै महिलाका भावना, अनुभव र सामाजिक विषयसमेत अभिव्यक्त हुने गरेका छन्।
पौराणिक कथाअनुसार हिमालयपुत्री पार्वतीले महादेवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीका सखीहरूले उनलाई गुप्त स्थानमा लगेर राखेको र त्यहीँ उनले निराहार व्रत तथा तपस्या गरी महादेवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक कथन छ। सखीहरूले पार्वतीलाई हरण गरेर लगेकै दिन भाद्र शुक्ल तृतीया परेको मानिने भएकाले त्यसैको स्मरणमा हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।
‘हरितालिका’ शब्द संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट बनेको मानिन्छ। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी वा सखी भन्ने हुन्छ। यही कारण तीजलाई हरितालिका भनिएको धर्मशास्त्रीय मान्यता छ।
हरितालिका तीजको व्रत निराहार, जलाहार वा फलाहारमध्ये आफ्नो स्वास्थ्यअनुकूल विधिबाट बस्न सकिने धार्मिक मान्यता छ। स्वास्थ्यका कारण निराहार बस्न नसक्नेले जल, फलफूल, दूध, सखरखण्ड, पिँडालु, तरुललगायत सेवन गर्न सक्ने उल्लेख शास्त्रमा पाइन्छ। औषधि सेवन गर्नुपर्ने अवस्थामा औषधि सेवन गर्दा व्रत भङ्ग नहुने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
स्वास्थ्य अवस्था कमजोर भएका वा नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिँदै व्रतको विधि अपनाउनुपर्नेमा धर्मशास्त्रले समेत जोड दिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्