काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन्।
ठगीसम्बन्धी उजुरीपछि प्रहरीले पक्राउ गरेका गुरुङ आठ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार मात्रै मुक्त भएका थिए। ठगीसम्बन्धी रकम बुझाएपछि उनलाई हिरासतबाट मुक्त गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिएका थिए।
अनुशासन समितिको संयोजकजस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्ति नै ठगी प्रकरणमा पक्राउ परेपछि कांग्रेसभित्र र बाहिर उनको नियुक्ति तथा पार्टीको जिम्मेवारी बाँडफाँटलाई लिएर आलोचना भएको थियो। विशेषगरी आफैँ ठगीसम्बन्धी विवादमा परेका व्यक्तिले पार्टीभित्र अनुशासन कायम गराउने जिम्मेवारी कसरी निर्वाह गर्न सक्छन् भन्ने प्रश्न उठेको थियो।
आलोचना चुलिएपछि गुरुङले अनुशासन समिति संयोजक पदबाट राजीनामा दिएका हुन्। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले गुरुङले पदबाट राजीनामा दिएको जानकारी गराएका थिए। प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा समेत यसको जानकारी उल्लेख छ।
गुरुङलाई सभापति थापाले पार्टीको अनुशासन समितिको संयोजकको जिम्मेवारी दिएका थिए। पछिल्लो घटनाले पार्टीभित्र महत्वपूर्ण जिम्मेवारीमा व्यक्ति चयन गर्दा उसको पृष्ठभूमि, विश्वसनीयता र सार्वजनिक छविलाई लिएर थप गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बहससमेत सुरु भएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्