सूचीबद्ध कम्पनीको शेयर बिक्रीमा लाग्ने अग्रिम कर घट्यो, ३.५ र ५ प्रतिशत कायम

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३१, बुधबार १८:२४

काठमाडौँ । सरकारले धितोपत्र बजारमा सूचीकरण भएका निकायको शेयर निसर्ग (बिक्री) बाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले धितोपत्र विनियम बजारमा प्राकृतिक व्यक्तिको हकमा करको दर घटाइएको जानकारी दिए।

नयाँ व्यवस्थाअनुसार धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हित निसर्गबाट प्राप्त लाभमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा लाग्दै आएको ७.५ प्रतिशत अग्रिम कर घटाएर ३.५ प्रतिशत कायम गरिएको छ।

त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा लाग्दै आएको १० प्रतिशत अग्रिम करलाई घटाएर ५ प्रतिशत कायम गरिएको छ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय भएको छ। प्रशासन सेवातर्फका सहसचिव कालीप्रसाद पराजुलीलाई पनि राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरिएको छ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बिमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी कारबाही अघि बढाउन साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिने प्रक्रियासम्बन्धी आदेश जारी गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको ‘सक्रिय राहत कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *