नुवाकोटका प्रहरी हवल्दार ठगेन्द्र बहादुर पाण्डे ‘उत्कृष्ट प्रहरी घाेषित ’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ८, शनिबार १९:२३

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रहरी हवल्दार ठगेन्द्र बहादुर पाण्डेलाई २०८३ साल असोज महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको छ।

वडा प्रहरी कार्यालय नारायणगढ, चितवनमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय नुवाकोटको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी हवल्दार पाण्डेले सूचना संकलन, फरार प्रतिवादी पक्राउ तथा विभिन्न अपराध अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो।

पाण्डेले लागूऔषध मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका–२६ का स्थायी बासिन्दा ५६ वर्षीय सिता श्रेष्ठलाई गोप्य सूचनाका आधारमा खोजतलास गरी २०८३ असोज १२ गते बिहान आफ्नै स्थायी वतनमा फेला पारी पक्राउ गरेका थिए। पक्राउपछि उनलाई नुवाकोट जिल्ला अदालतमा बुझाउँदा अदालतले ११ महिना ८ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भुक्तान गराउने फैसला गरेको थियो।

त्यस्तै, असोज महिनामा विभिन्न प्रकृतिका कसुरमा फरार रहेका १२ जना प्रतिवादी पक्राउ गर्न पनि पाण्डेले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरी कार्यालयले जनाएको छ।

भदौ १० गते रसुवा भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–३ देवीघाटस्थित त्रिशूली नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको नामथर वतन नखुलेको महिलाको शवको कानबाट मुन्द्रा तथा हातको औँठी चोरी भएको घटनामा समेत उनले सूक्ष्म रूपमा सूचना संकलन गरी घटनामा संलग्न पाँच जनालाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइएको थियो।

कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी अधिकृतबाट प्राप्त विभागीय नीति निर्देशन अक्षरशः पालना गर्दै सूचना संकलन तथा फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पाण्डेको कार्यसम्पादनको उच्च मूल्यांकन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

उनको कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै निरन्तरतासँगै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्ने उद्देश्यले प्रहरी हवल्दार टोकेन्द्रबहादुर पाण्डेलाई २०८३ साल असोज महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *