काठमाडौं । नेपाल–भारत सम्बन्धका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै भारतको राजधानी नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति पूर्वउपप्रधानमन्त्री कमल थापाले आपत्ति जनाएका छन्।
थापाले वाग्लेको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिकै अवमूल्यन भएको टिप्पणी गरेका छन्। नेपालको राष्ट्रवाद कुनै मुलुक विशेषको विरोधमा आधारित नरहेको उल्लेख गर्दै उनले विदेशी भूमिमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु राष्ट्रिय सरोकारका विषयलाई कमजोर बनाउने प्रयास भएको बताएका छन्।
थापाका अनुसार नेपालको राष्ट्रियता आफ्नो सार्वभौमिकता, स्वाधीनता र नेपाली जनताको हितको संरक्षणमा केन्द्रित छ। भारतसँग नेपालले समानता, पारस्परिक सम्मान र मैत्रीपूर्ण सम्बन्ध चाहेको भए पनि सीमा अतिक्रमण, डुबान तथा नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रहितप्रतिको दायित्व भएको उनको भनाइ छ।
सानो समूह वा केही व्यक्तिका अपवादजन्य धारणालाई आधार बनाएर समग्र नेपाली समाजको राष्ट्रिय भावनालाई संकुचित रूपमा व्याख्या गर्न नहुने पनि थापाले बताएका छन्। उनले वाग्लेको अभिव्यक्तिलाई पूर्वाग्रही दृष्टिकोणको परिणाम भएको टिप्पणी गरेका छन्।
थापाले वाग्लेको पछिल्लो अभिव्यक्ति विगतमा उनले अघि सारेको भनिएको ‘मुनरो डक्ट्रिन’सँग सम्बन्धित छ कि छैन भन्ने प्रश्नसमेत उठाएका छन्। जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिले राष्ट्रिय सरोकारका विषयमा दिएको अभिव्यक्तिबारे जवाफ दिनुपर्ने उनको भनाइ छ।
साथै, थापाले भारतसँगको सम्बन्ध र राष्ट्रियतासम्बन्धी वाग्लेको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो कि होइन भन्ने प्रश्नसमेत गरेका छन्।
‘राष्ट्रहितका विषयमा उठ्ने आवाज अब असान्दर्भिक भइसकेका हुन् ?’ भन्ने प्रश्न गर्दै थापाले सरकारको यस विषयमा स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने बताएका छन् ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्