काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच पार्टी एकता भएको छ । दुवै पार्टीले १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै बुधबार पार्टी एकताको प्रक्रिया अघि बढाउने सहमति गरेका हुन् ।
मंगलबार भएको सहमतिअनुसार पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न पाँच कुने तारा हुनेछ । पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहने सहमतिमा उल्लेख छ ।
त्यस्तै, पार्टीको तात्कालिक कार्यनीतिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने उल्लेख छ ।
सहमति पत्रमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने उल्लेख गर्दै परिस्थिति अनुसार आन्दोलनका सबै स्वरूप प्रयोग गर्न सकिने जनाइएको छ । सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनको मोर्चाका रूपमा लिइनेछ ।
एकता राष्ट्रिय महाधिवेशन आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिनेछ । त्यस्तै, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा साङ्गठनिक समायोजन गरिनेछ ।
सबै तहका पार्टी समिति र जनसङ्गठनको समायोजन मंसिर मसान्तभित्र सम्पन्न गर्ने सहमति भएको छ । पार्टी समितिहरूको सञ्चालन विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार गरिनेछ ।
त्यस्तै, दुवै पार्टीबिच हुन सक्ने सैद्धान्तिक तथा वैचारिक मतभेद र विगतको समीक्षाबारे निरन्तर छलफल गर्दै एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति भएको छ ।
सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव उमा भुजेल तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्