भोटेकोशी बाढीले क्षति पुर्याएको सिटिजन्स बैंकको देवीघाट शाखा बट्टारमा स्थानान्तरण
नुवाकोट । भोटेकोशी बाढीबाट पूर्ण रूपमा क्षति भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नुवाकोटस्थित देवीघाट शाखा विदुर नगरपालिका–२ बट्टारमा स्थानान्तरण गरिएको छ ।
स्थानीय सेवाग्राहीलाई सहज, सुलभ र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले मंगलबारदेखि बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यसअघि देवीघाटमा रहेको शाखाबाट बट्टार करिब ७ किलोमिटरको दूरीमा पर्दछ ।
बट्टारमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले देवीघाट शाखा पूर्ण रूपमा क्षति भएपछि पनि ग्राहकलाई निरन्तर बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बताए । उनले प्रतिकूल परिस्थितिमा धैर्य र लगनशीलताका साथ शाखा पुनः सञ्चालनमा ल्याउन योगदान पुर्याउने कर्मचारीहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ उच्चस्तरीय ग्राहक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भोटेकोशीको विनाशकारी बाढीले देवीघाटस्थित बैंकको शाखा पूर्ण रूपमा बगाए पनि त्यहाँ कार्यरत कर्मचारीहरू भने सुरक्षित रहन सफल भएका थिए ।
बट्टारमा सञ्चालनमा आएको सुविधासम्पन्न शाखामार्फत ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ । साथै, साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य बैंकले लिएको छ ।
यसैबीच, बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क (बीएमआई) परीक्षण तथा मधुमेह परीक्षणलगायतका स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्