रास्वपा बागमती अधिवेशनको मतदान विवादपछि रोकिएकाे निर्वाचन प्रक्रिया अन्योलमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २७, बुधबार १०:४०

मकवानपुर, हेटौँडा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशन अन्तर्गत मंगलबार राति सुरु गरिएको मतदान प्रक्रिया विवाद उत्पन्न भएपछि बीचमै रोकिएको छ।


निर्वाचन समितिले पूर्वनिर्धारित कार्यतालिका अनुसार मध्यरातपछि मतदान सुरु गरेको थियो। प्रदेश सभापति पदका लागि चार जनाको उम्मेदवारी कायम रहेको तथा सदस्य पदका लागि ८८ जनाले प्रतिस्पर्धा गरिरहेका थिए। मतदाताको नामावली सार्वजनिक गरी मतदान अघि बढाइए पनि सुरु भएको करिब आधा घण्टामै विवाद चर्किएपछि प्रक्रिया स्थगित गरिएको हो।


जानकारी अनुसार राति करिब १:३० बजे मतदान सुरु भएको थियो। पाँच जनाजति मतदाताले मतदान गरिसकेपछि भक्तपुर जिल्लासम्बन्धी मतदाता सूची र उम्मेदवारको विवरण स्पष्ट रूपमा समावेश नगरिएको भन्दै असन्तुष्टि देखिएको थियो। निर्वाचन क्षेत्र तथा क्लस्टर अनुसार उम्मेदवारहरूको सूची अपूर्ण रहेको आरोप लागेपछि कार्यकर्ता र प्रतिनिधिहरूबीच विवाद बढेको बताइएको छ।


विवाद उग्र बन्दै जाँदा केही सहभागीले मतपत्र च्यातेका थिए भने नाराबाजी र होहल्ला समेत भएको थियो। त्यसपछि निर्वाचन समितिले बुधबार बिहान ८ बजेसम्मका लागि मतदान स्थगित गर्ने निर्णय गर्दै स्थल छाडेको थियो।


हेटौँडा–१ स्थित हिमालयन दरबारमा जारी अधिवेशनमा निर्वाचन प्रक्रिया रोकिएपछि हालसम्म मतदान पुनः सुरु हुन सकेको छैन। कार्यक्रम स्थलबाट प्राप्त जानकारी अनुसार मतदान कसरी सञ्चालन गर्ने भन्ने विषयमा जिल्ला सभापति सहितकाे छलफल सुरु भएको छ।अब केही समयपछि निर्वाचन हुने भन्दै प्रतिनिधिहरुलाई राेकिएकाे छ ।

यद्यपि निर्वाचन समितिका तर्फबाट निर्वाचन प्रक्रिया कहिले पुनः सञ्चालन हुने भन्ने विषयमा भने आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *