शैक्षिक वातावरण सुधारका लागि सामाजिक सञ्जाल नियन्त्रण, शिक्षकलाई बिहान ९ बजे अनिवार्य उपस्थित हुन र दैनिक सिकाइ योजना बनाउन आग्रह
नुवाकोट, पञ्चकन्या –नुवाकोट जिल्लाकाे पञ्चकन्या गाउँपालिकाले विद्यालयको शैक्षिक वातावरण र सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले विद्यालय समयभित्र फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालको प्रयोग नियन्त्रण गर्न निर्देशन दिएको छ।
गाउँ कार्यपालिकाको निर्णयअनुसार सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यालयको इन्टरनेट सेवामा आवश्यक सेटिङ मिलाई सामाजिक सञ्जालको अनावश्यक प्रयोग रोक्नुपर्नेछ। गाउँपालिकाले यस कदमले विद्यार्थी तथा शिक्षकको ध्यान पठनपाठनमा केन्द्रित गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
यससँगै शिक्षक तथा कर्मचारीलाई सोमबारदेखि शुक्रबारसम्म बिहान ९:०० बजे विद्यालयमा अनिवार्य उपस्थित भई ९:४५ बजेसम्म कक्षागत तथा विषयगत सिकाइ योजना तयार गर्न निर्देशन दिइएको छ। विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न दैनिक छलफल, समीक्षा तथा आवश्यक रणनीति निर्माण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
निर्देशनमा बिहान ९:४५ देखि १०:०० बजेसम्म प्रार्थना तथा शैक्षिक गतिविधि सञ्चालन गरी समय व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने उल्लेख छ। साथै, महिनामा कम्तीमा एकपटक परियोजनामूलक तथा प्रयोगात्मक सिकाइ कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
आन्तरिक परीक्षा सम्पन्न भएपछि नतिजा समीक्षा गरी कमजोर विद्यार्थीलाई थप सहयोग उपलब्ध गराउनुपर्ने व्यवस्था पनि निर्णयमा समेटिएको छ।
गाउँपालिकाले सबै विद्यालयलाई यी निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गरी विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अनुरोध गरेको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्