काठमाडौं,जेठ २८ — रास्वपाका प्रभावशाली नेता प्रमोद न्यौपानेले सामाजिक सञ्जालमा “ढुक्क हुनुस्, अब यसरी बन्दैन” भन्ने टिप्पणी सार्वजनिक गरेका छन्। उनको यो अभिव्यक्तिलाई धेरैले आफ्नै पार्टी सहभागी रहेको सरकारको कार्यशैलीप्रतिको असन्तुष्टिका रूपमा व्याख्या गरेका छन्।
केही दिनअघि बालेन्द्र शाहले सामाजिक सञ्जालमा “ढुक्क हुनुस्” भन्ने छोटो स्टाटस लेखेका थिए। न्यौपानेको पछिल्लो टिप्पणी सोही अभिव्यक्तिलाई लक्षित गर्दै आएको हुन सक्ने अनुमान सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गरेका छन्।
यद्यपि न्यौपानेले आफ्नो टिप्पणी कसलाई वा कुन सन्दर्भलाई लक्षित गरेर लेखेका हुन् भन्नेबारे स्पष्ट खुलाएका छैनन्। तर उनको भनाइले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सरकारको कार्यशैलीप्रति असन्तुष्टि क्रमशः बढ्दै गएको संकेत गरेको चर्चा हुन थालेको छ।
सरकार गठन भएको करिब दुई महिना पुग्न लागेका बेला आएका यस्ता सार्वजनिक अभिव्यक्तिहरूले सत्ता साझेदार दलभित्रको आन्तरिक मनोविज्ञान र सरकारप्रतिको दृष्टिकोणबारे नयाँ बहस सुरु गराएको छ।
राजनीतिक वृत्तमा भने न्यौपानेको टिप्पणी केवल व्यक्तिगत धारणा हो वा पार्टीभित्र बढ्दो असन्तुष्टिको प्रतिनिधि आवाज हो भन्ने विषयमा चासो बढेको देखिएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्