कञ्चनपुर, २८ जेठ – नुवाकोटका युवा समाजसेवी डा भीमलाल तामाङले नेतृत्व गर्नुभएको जी.एफ.एन. परोपकारी परियोजना २०८२/०८३ अन्तर्गत लालझाडी गाउँपालिका वडा नं. ५, देख्खतभुलीमा विभिन्न सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमअन्तर्गत २० जना महिलालाई आयआर्जनको स्रोत विकासका लागि बिउस्वरूप बाख्रा वितरण गरिएको छ। साथै, १० जना वृद्ध एकल महिला (विधुवा) लाई आर्थिक सहयोग तथा सम्मान गरिएको छ।
त्यसैगरी, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि श्री राष्ट्रिय बहुभाषिक आधारभूत विद्यालय र बैजनाथ आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। श्री राष्ट्रिय बहुभाषिक आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई लेखन सामग्री तथा खेलकुद सामग्रीसमेत वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री पहल बहादुर थापा रहनुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री जीत बहादुर राना, प्रधानाध्यापक श्री टिकराम चौधरी, शिक्षक-शिक्षिका, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण अतिथि, विद्यालय व्यवस्थापन समिति, शिक्षक-शिक्षिका, अभिभावक तथा समाजसेवी एवं संस्थाका स्थानीय प्रतिनिधि श्री प्रह्लाद राना लगायत सबैप्रति आयोजकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
यस कार्यक्रमले महिला सशक्तीकरण, सामाजिक संरक्षण तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।



नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्