काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक हैसियत र स्वतन्त्रतामाथि प्रश्न उठ्ने अवस्था आउन नहुने बताएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको निकाय नभएको स्मरण गराउँदै त्यसका पदाधिकारीले आफ्नो संस्थागत मर्यादा कायम राख्नुपर्ने बताए।
उनले अख्तियारले प्रधानमन्त्रीसमेतको अनुसन्धान गर्न सक्ने संवैधानिक अधिकार राख्ने भएकाले प्रधानमन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी त्यहाँ पुग्ने प्रवृत्ति उचित नभएको धारणा राखे।
सिंहले अख्तियारका पदाधिकारीकै व्यवहारका कारण आयोगले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोपसमेत लगाए। संसदीय समितिमा उपस्थित भएर जवाफ दिनु स्वाभाविक भए पनि कुनै मन्त्री वा प्रधानमन्त्रीको बोलावटमा जाने प्रवृत्तिले अख्तियारको स्वतन्त्रता र गरिमा कमजोर पार्ने उनको भनाइ थियो।
उनले अख्तियारको संस्थागत मर्यादा पछिल्लो समय कमजोर हुँदै गएको दाबी गर्दै यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्