१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये कम्तीमा एक जना जीवित रहेको संकेत भेटिएको छ।
खोजी तथा उद्धारमा खटिएको टोलीले शुक्रबार बिहान सुरुङभित्रबाट मानिसको आवाज सुनेपछि उद्धार कार्य थप तीव्र बनाएको हो। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै सम्बोधन गर्दा भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको बताइएको छ।
उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत नेपाली सेनाको उद्धार टोलीले दिएको हो। यसअघि बाढी र पहिरोका कारण सुरुङको प्रवेशद्वार लेदो तथा भग्नावशेषले पुरिएपछि उद्धार टोलीले लगातार बाटो खुलाउने प्रयास गरिरहेको थियो।
सुरुङभित्रबाट जीवित व्यक्तिको आवाज सुनिएपछि लामो समयदेखि सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल उद्धार हुने आशा बढेको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र प्रवेश गरी फसेका व्यक्तिसम्म पुग्ने प्रयासलाई तीव्रता दिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्