बालेनको सहि समयलाई गगनको जवाफ : ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १६, सोमबार २०:३६

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत संक्षिप्त तर अर्थपूर्ण जवाफ दिएका छन्।

सोमबार साँझ ठीक ६ बजे फेसबुकमा स्ट्याटस लेख्दै थापाले आफू कसैको धम्कीबाट नडराउने सन्देश दिएका हुन्। उनले लेखेका छन्, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

यसअघि आइतबार प्रधानमन्त्री शाहले पनि फेसबुकमार्फत चेतावनीपूर्ण शैलीमा छोटो स्ट्याटस लेखेका थिए। उनले ‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै लेखेका थिए।

दुवै नेताका छोटा तर अर्थपूर्ण स्ट्याटसलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। विशेषगरी प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि कांग्रेस सभापति थापाले ठीक १८:०० बजे नै स्ट्याटस सार्वजनिक गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ।

पछिल्लो समय नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि पार्टीले आधिकारिकता प्राप्त गरेको प्रक्रियालाई लिएर विवाद र आरोप–प्रत्यारोप जारी छ। विशेष महाधिवेशनपछि पार्टीको आधिकारिकता प्राप्त गर्ने क्रममा १८ करोड रुपैयाँ आर्थिक लेनदेन भएको दाबीसहितका समाचार सार्वजनिक भएका छन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा हिरासतमा रहेका इनम सापकोटाको बयानलाई आधार बनाएर उक्त रकम लेनदेन भएको दाबी गरिएको हो। तर कांग्रेसले भने यी आरोपको खण्डन गर्दै पार्टी विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न भएको जनाएको छ।

कांग्रेसले पार्टीविरुद्ध विभिन्न तानाबाना बुनेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै आपत्तिसमेत जनाउँदै आएको छ।

यस्तो पृष्ठभूमिमा सभापति थापाले ठीक ६ बजे अर्थात् १८:०० बजे नै स्ट्याटस लेख्नुलाई १८ करोड रुपैयाँको आरोपसँग जोडेर पनि व्याख्या गरिएको छ। यद्यपि थापाले आफ्नो स्ट्याटसमार्फत त्यसबारे प्रत्यक्ष रूपमा केही खुलाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *