भोटेकोशीमा पानीको बहाव बढ्यो, ठूलो बाढीको जोखिम नरहेको महाशाखाको स्पष्टोक्ति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १४, आईतवार ०६:३७


रसुवा । भोटेकोशी नदीमा पानीको बहाव केही बढेसँगै स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। यद्यपि, बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ।

यसअघि बिहान ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको भन्दै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका थिए।


तर, बाढी पूर्वानुमान महाशाखाले भदौ १४ गते बिहान ५ः४५ बजे जारी गरेको अद्यावधिक सूचनाले हाल त्रासपूर्ण अवस्था नरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त विवरणअनुसार भोटेकोशी नदीमा पानीको बहाव केही बढेको भए पनि ठूलो बाढीको अवस्था नरहेको महाशाखाले जनाएको हो।


महाशाखाका अनुसार नुवाकोट क्षेत्रमा समेत नदीको बहाव केही बढेको छ। नदी किनारमा रहेका स्थानीयले पानीको बहाव बढे पनि यसअघिको विनाशकारी बाढीको जस्तो अवस्था नरहेको भन्दै सामाजिक सञ्जालमार्फत श्रव्य–दृश्य सामग्री सार्वजनिक गरिरहेका छन्।


यसै अवस्थालाई आधार मानी हाललाई रसुवा, नुवाकोट र धादिङसम्म नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जनाएको छ। यद्यपि, अघिल्लो विपद्को त्रास अझै कायमै रहेकाले नदीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ।


यसअघि भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। सोही घटनाको त्रास बाँकी रहेकाले नदीमा सामान्य रूपमा बहाव बढ्दा समेत स्थानीयस्तरमा सतर्कता बढाइएको हो।


हाल ठूलो बाढीको जोखिम नरहेको भए पनि नदी आसपासका बासिन्दालाई अनावश्यक रूपमा नदी किनारमा नजान र पानीको बहावमा हुने परिवर्तनप्रति सचेत रहन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *