बाढीको विपत्तिपछि विदुरका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १५, सोमबार १७:५५


नुवाकोट — भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि विदुर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय अर्को निर्णय नभएसम्म बन्द गर्न आग्रह गरेको छ।


विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले जारी गर्नुभएको सूचनामा भदौ १० गतेको बाढीका कारण केही विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको तथा शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी र अभिभावकसमेत प्रभावित तथा बेपत्ता रहेको अवस्था उल्लेख गरिएको छ।


बाढीका कारण प्रभावित विद्यार्थी तथा अभिभावकमा गम्भीर मनोसामाजिक त्रास रहेको र तत्काल विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति, नुवाकोट तथा विदुर नगरपालिकाको भदौ १५ गतेको निर्णयअनुसार अर्को निर्णय नभएसम्म नगर क्षेत्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालय बन्द राख्न अनुरोध गरिएको हो।


नगरपालिकाले विपद्को अवस्था सामान्य भएपछि विद्यालय सञ्चालनबारे पुनः निर्णय गरिने जनाएको छ। बाढीबाट नुवाकोटका विभिन्न विद्यालयमा ठूलो भौतिक क्षति पुगेको र केही विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको विवरणसमेत सार्वजनिक भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *