नुवाकोट — त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन गुडविल एकेडेमी, बिदुर–५ पिपलटारले शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।
२०८३ साल भदौ १० गते आएको बाढीका कारण परिवारका सदस्य गुमाएका, घर तथा सम्पत्ति क्षति भएका र प्रत्यक्ष रूपमा प्रभावित बालबालिकालाई विद्यालयले आफ्नो क्षमताअनुसार निःशुल्क गुणस्तरीय शिक्षा उपलब्ध गराउने विद्यालयका प्रिन्सिपल रामराजा कुमालले जानकारी दिनुभयाे ।
विद्यालयले नेपाल सरकारबाट प्रभावित बालबालिकाका लागि स्थायी तथा प्रभावकारी नीति र व्यवस्था नहुँदासम्म सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
बाढीपीडित विद्यार्थी तथा अभिभावकलाई आवश्यक समन्वय गरी विद्यालयमा सम्पर्क गर्न आग्रह गर्दै छात्रवृत्तिका लागि बाढीपीडित भएको प्रमाणपत्र वा सम्बन्धित प्रमाणपत्र साथमा ल्याउन विद्यालयले अनुरोध गरेको छ।
विद्यालयले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित परिवारलाई धैर्य र साहसका साथ विपद्को सामना गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
गुडविल एकेडेमीले बाढीबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा प्रभावित नागरिकको सुरक्षित जीवन सुनिश्चित गर्न सरकारबाट प्रभावकारी कदम चालिने विश्वाससमेत व्यक्त गरेको छ।
भाेटेकाेशी बाढीले नुवाकोटका ५ विद्यालय धेरै प्रभावित भएका छ । विदुरभित्रका उत्तरगया,त्रिशूली लगायतका रहेका छन् ।यस्तै बाढी बाट सामुदायिक र संस्थागतमा अध्ययनरत ३ सय भन्दा धेरै विद्यार्थी सम्पर्कबिहिन रहेकाे बताइएको छ ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्