काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्। बाढी आएको छैटौँ दिनसम्मको अवस्थाबारे प्रधानमन्त्री शाहले आज सार्वजनिक गरेको विवरणअनुसार प्रभावित क्षेत्रमा सरकारको खोज तथा उद्धार अभियानसँगै राहत र पुनःस्थापनाको तयारी अघि बढाइएको छ।
प्रधानमन्त्री शाहले विपद्को समयमा आफ्नो ज्यानको समेत पर्वाह नगरी प्रभावित क्षेत्रमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न संघसंस्था तथा स्वयंसेवक र आम नागरिकप्रति आभार व्यक्त गरेका छन्। संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय तथा मित्रराष्ट्र र स्वदेशी–विदेशी संघसंस्थाबाट प्राप्त सहयोगप्रति पनि उनले धन्यवाद दिएका छन्।
३ हजार ६९६ प्रभावितसम्म राहत
सरकारका अनुसार रसुवा, नुवाकोट र धादिङमा चार वटा संकलन केन्द्रमार्फत संकलित राहत सामग्री २७ वटा वितरण केन्द्रबाट ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म पुर्याइएको छ। प्रदेश तथा स्थानीय सरकारसमेत संघीय सरकारसँगको समन्वयमा राहत तथा आश्रय व्यवस्थापनमा सक्रिय रहेको प्रधानमन्त्री शाहले बताएका छन्।
भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट सहयोग प्राप्त भएको सरकारले जनाएको छ।
राहत कोषमा ५ अर्ब ८७ करोडभन्दा बढी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषका नौ वटा वाणिज्य बैंकका खातामा आज मध्यान्हसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा गरी ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर समेत जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
त्रिशूलीपारिको सडक सञ्जाल पुनः सञ्चालन
बाढीका कारण प्रभावित नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङका अधिकांश पुल भत्किएपछि अस्थायी पुल निर्माणलाई प्राथमिकता दिइएको छ। देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको छ।
भारतबाट २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको तथा थप सात वटा बेलीब्रिज पठाउने प्रतिबद्धता आएको प्रधानमन्त्री शाहले बताएका छन्। चीनबाट पनि ३० वटा बेलिब्रिज चाँडै प्राप्त हुने जनाइएको छ।
११ हजार ३७९ जनाको उद्धार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ भने ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको सरकारले जनाएको छ। उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ जना घाइतेमध्ये १६८ जना डिस्चार्ज भइसकेका छन्।
विद्युत् र सञ्चार सेवा पुनःस्थापनामा तीव्रता
रसुवामा करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनःस्थापित भएको छ भने बाँकी क्षेत्रमा पोर्टेबल सोलारसमेत पठाइएको छ।
नुवाकोटमा ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको र बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी पाँच दिनभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको सरकारले जनाएको छ।
धादिङमा भने ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भइसकेको छ। बाँकी क्षेत्रमा समेत आगामी दुई दिनभित्र विद्युत् सेवा सञ्चालन गर्ने गरी काम भइरहेको छ।
सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।
जलविद्युत् आयोजनाबाट २७९ जनाको उद्धार
बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाबाट नेपाली सेनाले हालसम्म २७९ जनाको उद्धार गरेको प्रधानमन्त्री शाहले बताएका छन्। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट मात्रै २५४ जनाको उद्धार गरिएको छ।
मैलुङ खोला आयोजनाबाट नौ, रसुवागढीबाट दुई, माथिल्लो त्रिशूली–३ बीबाट दुई, त्रिशूली जलविद्युत् आयोजनाबाट तीन, सौर्य आयोजनाबाट चार र देवीघाट जलविद्युत् आयोजनाबाट चार जनाको उद्धार गरिएको छ। विभिन्न आयोजनाका सुरुङमा अझै खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
९३९ शव फेला
बाढीमा परी ज्यान गुमाएका तथा पहिचान हुन नसकेका शवको कानुनी तथा वैज्ञानिक प्रक्रियाअनुसार व्यवस्थापन भइरहेको सरकारले जनाएको छ। प्रधानमन्त्री शाहका अनुसार हालसम्म ९३९ जनाको शव फेला परेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने र पहिचान हुन नसकेका शवको डीएनएलगायत प्रमाण सुरक्षित राखी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ।
‘यो सामान्य बाढी होइन, हिमालय क्षेत्रकै ठूलो विपत्ति’
प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको बाढीलाई सामान्य बाढी नभई हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा व्याख्या गरेका छन्।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको भन्दै उनले आगामी दिनमा जोखिम न्यूनीकरणका लागि सचेत हुनुपर्ने र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष थप बलियो रूपमा उठाउनुपर्ने बताएका छन्।
पुनःस्थापनालाई प्राथमिकता
सरकारले खोज तथा उद्धारसँगै प्रभावित नागरिकको पुनःस्थापनाको तयारीसमेत अघि बढाएको जनाएको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन सुरु गरिएको छ।
घर, परिवार, प्रियजन तथा जायजेथा गुमाएका नागरिकको पीडालाई सम्बोधन गर्दै उनीहरूलाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउँदै सामान्य जनजीवनमा फर्काउने गरी पुनःस्थापनाको काम अघि बढाइने प्रधानमन्त्री शाहले बताएका छन्। त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउने कामसमेत जारी रहेको सरकारले जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्