बाढीले ध्वस्त त्रिभुवन त्रिशूली मावि पुनर्निर्माण गरिने, सहयोगका लागि विद्यालयको अपिल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १६, मंगलवार ०९:३५

नुवाकोट । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले पुनर्निर्माणका लागि सहयोगको अपिल गरेको छ।


विद्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा बाढी आउनुअघि विद्यार्थीलाई सुरक्षित स्थानमा पुर्याउन प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीले देखाएको साहस र जिम्मेवारीप्रति आभार व्यक्त गरिएको छ। विद्यालयमा पठनपाठन भइरहेका बेला बाढीको सूचना पाएपछि तत्काल विद्यार्थीलाई सुरक्षित स्थानमा पठाइएको विद्यालयले जनाएको छ। बाढीका कारण विद्यालयको सम्पूर्ण भौतिक संरचना ध्वस्त भए पनि समयमै गरिएको उद्धारका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको विद्यालयको भनाइ छ।


विद्यालयका अनुसार बाढीका कारण विद्यार्थीका पाठ्यपुस्तक तथा शैक्षिक सामग्री मात्र नभई केही विद्यार्थीले आफ्ना पारिवारिक सदस्य र आश्रयस्थलसमेत गुमाएका छन्। यस्तो अवस्थामा विद्यार्थी र शिक्षकको मनोसामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखी पठनपाठन सुचारु गर्नुपर्ने विद्यालयले जनाएको छ।


प्रेस विज्ञप्तिमा बाढीबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणसँगै तत्काल वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको उल्लेख छ। विद्यालयलाई विगतको भन्दा अझ सुरक्षित, व्यवस्थित र आधुनिक सुविधासम्पन्न शैक्षिक संस्थाका रूपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता पनि विद्यालयले जनाएको छ।
त्यस्तै, बाढीपछि विद्यालयको भौतिक सम्पत्तिका रूपमा जोगिएका बसमध्ये एक बसमा तोडफोड गरिएको घटनाप्रति विद्यालयले गम्भीर आपत्ति जनाएको छ। विद्यालयले घटनाको भत्र्सना गर्दै दोषीको पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।


विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले विपद्को यस कठिन घडीमा स्थानीय सरकार, शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै विद्यालय पुनर्निर्माण अभियानमा साथ दिन आग्रह गरेका छन्। बाढीका कारण विद्यालयका भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको तथ्य अन्य रिपोर्टहरूले पनि पुष्टि गरेका छन्।

प्रधानाध्यापक दवाडीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ— त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई भौतिक रूपमा ध्वस्त भए पनि शैक्षिक रूपमा अझ बलियो बनाएर पुनः उभ्याउन सबै पक्षको सहयोग आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *