म जन्मेको गाउँ, म हुर्केको ठाउँ,
मेरो सुन्दर सहर—आज कहाँ छ र?
जहाँ मेरा बालापनका पाइला थिए,
आज त्यहाँ बाढीको भेल बगेको छ।
जुन आँगनमा खुसीका गीत गाइन्थे,
जुन बाटोमा आफ्नाहरू भेटिन्थे,
जहाँ हरेक मोडमा सम्झना जोडिएको थियो,
आज त्यही बाटो पहिरोले छोपिएको छ।
मेरो जन्मभूमि, मेरो सुन्दर सहर,
मेरो आँखाको सपना, मनभरिको रहर।
बाढी र पहिरोले यस्तो उजाड बनायो,
मेरो जीवनका रहरहरू पनि सबै सकायो।
घर ढले, बस्ती ढले, बाटाहरू हराए,
सँगै हाम्रा कति सपनाहरू पनि बगे।
हिजो रमाउने ठाउँ आज रुवाउँछ,
सम्झिँदा मात्रै पनि मुटु भक्कानिन्छ।
कसरी बिर्सूँ ती गल्ली र चौतारी?
कसरी बिर्सूँ त्यो आफ्नै माटो?
कसरी बिर्सन सकूँ त्यो मेरो सुन्दर सहर?
त्यही माटोमा बालापन छोडेर आएँ,
त्यही माटो आज आँसुसँगै खोज्दैछु।
कहिले हाँसो गुञ्जिने गाउँ थियो,
कहिले उत्सवले सजिने सहर थियो।
आज चारैतिर पीडाको मौनता छ,
जताततै बाढी–पहिरोको कहर छ।
म जन्मेको गाउँ, म हुर्केको ठाउँ,
मेरो सुन्दर सहर अनि मेरा रहर।
बाढीले बस्ती मात्रै बगाएन,
मेरो जीवनका कति सपनाहरू पनि बगायो।
आज आफ्नै जन्मभूमि सम्झिँदा
आँखाबाट आँसु झर्न थाल्छ।
घरको सम्झना आउँदा मुटु दुख्छ,
अनि मनले एउटै प्रश्न गर्छ—
फेरि कहिले फर्किएर हेर्न पाउँला
मेरो त्यो सुन्दर गाउँ र सहर?
बगेर गएका घरहरू फर्किँदैनन् होला,
पुरिएका बाटाहरू पनि फेरि खुल्लान्।
तर मेरो मनमा बसेको जन्मभूमि
कहिल्यै कहाँबाट बगेर जान सक्छ र?
मेरो जन्मभूमि, मेरो सुन्दर सहर,
तिमी उजाडिँदा उजाडियो मेरो रहर।
तिमी रोयौ, म कसरी हाँस्न सकूँ?
तिमी बग्यौ, म कसरी बाँच्ने रहर राखूँ?
— इन्दिरा रेग्मी
बेलकोटगढी–११, नुवाकोट
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्