धादिङ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभीरको पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार जारी गरेको सूचनाअनुसार क्षतिग्रस्त सडकको आवश्यक मर्मत गर्नुपर्ने भएकाले २०८३ भदौ २० गते शनिबार बिहान ६ बजेदेखि सोही दिन बेलुका ६ बजेसम्म एम्बुलेन्स र शववाहनबाहेक सबै सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।
बाढीका कारण परेवाभीरस्थित पृथ्वी राजमार्ग क्षतिग्रस्त भई हाल एकतर्फी मात्र सञ्चालनमा रहेको अवस्थामा मर्मत कार्य गर्न लागिएको प्रशासनले जनाएको छ। मर्मत कार्यका क्रममा सवारी आवागमन बन्द गर्दा यात्रुलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गरेको छ।
प्रशासनले उक्त अवधिमा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न समेत अनुरोध गरेको छ। पछिल्लो समय बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक क्षतिग्रस्त बनेका छन्।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्