काठमाडौँ । नेकपा (एमाले)ले गत वर्ष भदौ २४ गते देशका विभिन्न महत्वपूर्ण संरचना तथा सार्वजनिक–निजी सम्पत्तिमा भएको आगजनी र तोडफोड अघिल्लो दिनको घटनाबाट उत्पन्न तत्कालीन आक्रोशको परिणाम मात्र नभएको जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रेस वक्तव्यमार्फत उक्त घटना योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गरिएको हो।
भदौ २४ का घटनाको एक वर्ष पूरा भएको सन्दर्भमा जारी वक्तव्यमा एमालेले भदौ २३ गते भएको नवयुवाको प्रदर्शनमा आपराधिक समूहको घुसपैठपछि स्थिति हिंसात्मक बनेको उल्लेख गरेको छ। पार्टीका अनुसार उक्त क्रममा १९ जना युवाले ज्यान गुमाएका थिए। एमालेले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
एमालेले आयोजक पक्षले प्रदर्शन स्थगित गरेपछि पनि केही समूहले युवाहरूलाई प्रयोग गरी संसद् भवनतर्फ आक्रमण गर्न उक्साएको आरोप लगाएको छ। भीड नियन्त्रणका क्रममा भएको प्रहरी कारबाहीबाट मानवीय क्षति भएको पार्टीको दाबी छ।
पार्टीले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका महत्वपूर्ण संरचना, राजनीतिक दलका कार्यालय तथा विभिन्न सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई गम्भीर घटनाका रूपमा चित्रण गरेको छ।
एमालेका अनुसार तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि विध्वंसका घटना जारी रहेकाले भदौ २४ को घटनालाई अघिल्लो दिनको आक्रोशसँग मात्र जोड्न नमिल्ने देखिन्छ। पार्टीले यसलाई संविधान, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय हितलाई कमजोर बनाउने योजनासँग जोडेर निष्पक्ष छानबिन आवश्यक रहेको जनाएको छ।
भदौ २३ गतेको प्रदर्शन कसरी हिंसात्मक अवस्थामा पुग्यो र त्यसका लागि को–को जिम्मेवार थिए भन्ने विषयमा विस्तृत अनुसन्धान हुनुपर्ने एमालेको माग छ। साथै, घटनासँग सम्बन्धित सुरक्षा निकायको भूमिका र त्यसबारे तयार पारिएका प्रतिवेदन सार्वजनिक हुनुपर्ने पार्टीको धारणा छ।
भदौ २४ का घटनामा संलग्नमाथि अनुसन्धान र अभियोजन रोकिएको भन्दै एमालेले आपत्ति जनाएको छ। दोषीलाई उन्मुक्ति दिँदा दण्डहीनता र राजनीतिको अपराधीकरण बढ्ने उसको चेतावनी छ। राज्यका महत्वपूर्ण संरचना र लोकतान्त्रिक संस्थामाथि आक्रमण हुँदा सुरक्षा संयन्त्र किन प्रभावकारी बन्न सकेन भन्ने प्रश्नको समेत जवाफ खोजिनुपर्ने एमालेले बताएको छ।
एमालेले हिंसा, अराजकता र राज्यका सम्पत्तिमाथिको आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेको छ। लोकतान्त्रिक व्यवस्थामा राजनीतिक समस्या समाधानका लागि शान्तिपूर्ण र संवैधानिक बाटो अपनाउनुपर्नेमा पार्टीले जोड दिएको छ।
‘जेन्जी विद्रोह’का नाममा भएको हिंसा तथा विध्वंसमा नवयुवाको मूल उद्देश्य जिम्मेवार नरहेको दाबी गर्दै एमालेले उनीहरूको सरोकार र अपेक्षा सकारात्मक रहेको जनाएको छ। तर केही अन्य समूहले त्यसबाट राजनीतिक लाभ लिएको र त्यसकै परिणामस्वरूप युवामा निराशा बढेको पार्टीको निष्कर्ष छ।
एमालेले लोकतन्त्र, संविधान, राष्ट्रिय हित र स्वाभिमानको संरक्षण तथा मुलुकमा शान्ति कायम गर्न देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्नसमेत आह्वान गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्