राप्रपाको महाधिवेशन तयारी तीव्र, ४८ जिल्लामा अधिवेशन सम्पन्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २६, शुक्रबार १०:२७



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिरमा गर्ने महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। महाधिवेशनअन्तर्गत पार्टीले जिल्ला अधिवेशनहरू धमाधम सम्पन्न गरिरहेको छ। राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार हालसम्म देशभर ४८ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी जिल्लाको अधिवेशन पनि भदौ मसान्तसम्म सम्पन्न गर्ने तयारी भइरहेको उनले बताए।


बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने केन्द्रले केही समयका लागि जिल्ला अधिवेशन स्थगित गरेको छ। राप्रपाले यसअघि नै आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनलाई लक्षित गर्दै पार्टीले सक्रिय सदस्यता वितरणलाई समेत तीव्रता दिएको छ। सक्रिय सदस्यता वितरणको प्रक्रिया भदौ मसान्तसम्म सञ्चालन हुने पाठकले बताए।


पार्टीले सक्रिय सदस्यका आधारमा समावेशी ढंगले महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी गरेको छ। सोहीअनुसार देशभरबाट करिब चार हजार प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउने पाठकको दाबी छ


नेतृत्वमा कसले बाजी मार्ला ?
महाधिवेशन नजिकिँदै जाँदा राप्रपाभित्र नयाँ नेतृत्वका विषयमा समेत बहस तीव्र बनेको छ। पाठकका अनुसार अहिले पार्टीका सबैजसो नेता जिल्ला–जिल्लामा सक्रिय छन्। “भदौ मसान्तसम्म जिल्ला अधिवेशन सकिएपछि प्रदेश अधिवेशनको प्रक्रियामा जान्छौं। त्यसपछि मात्रै केन्द्रीय नेतृत्वका विषयमा छलफल हुन्छ,” उनले भने।


राप्रपाको विधानले एकपटक पदाधिकारी भइसकेका नेताहरूलाई अध्यक्षमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको भन्दै उनले इच्छुक सबैलाई प्रतिस्पर्धाको अवसर दिइने बताए। “उम्मेदवार बन्न पाउने कसैको अधिकार कुण्ठित नगरी पार्टी अगाडि बढ्छ,” पाठकले भने।


यद्यपि, अध्यक्षका लागि सम्भावित उम्मेदवारलाई लिएर राप्रपाभित्र अहिले नै गर्मागरम बहस सुरु भइसकेको छ। नेता ज्ञानेन्द्र शाहीले यसअघि नै आफू अध्यक्षमा उम्मेदवारी दिने बताइसकेका छन्। वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पनि आफ्नो पक्षमा माहोल बनाउन देशभरका नेता–कार्यकर्तासँग भेटघाट तथा छलफलमा सक्रिय छन्।
त्यस्तै, कार्यकर्तामाझ लोकप्रिय मानिने वर्तमान उपाध्यक्ष विक्रम पाण्डेलाई अध्यक्षमा उम्मेदवार बन्न देशभरबाट दबाब बढिरहेको बताइन्छ। यद्यपि पाण्डेले अहिलेसम्म आफ्नो उम्मेदवारीबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।


हालै उपाध्यक्ष पदबाट राजीनामा दिएका बुद्धिमान तामाङ पनि जिल्ला अधिवेशनपछि आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा रहेको उनीनिकट स्रोतको भनाइ छ। यसरी अध्यक्षका लागि चार जना सम्भावित उम्मेदवार मैदानमा आए र प्रतिस्पर्धा भए आगामी महाधिवेशन थप रोचक बन्ने देखिएको छ। विगतका महाधिवेशनपछि पटक–पटक विभाजनको सामना गरेको राप्रपामा आगामी महाधिवेशनपछि पार्टीको अवस्था कस्तो होला भन्ने विषयमा समेत कार्यकर्ताबीच बहस सुरु भएको छ।
कुन प्रदेशमा कहाँ–कहाँ अधिवेशन सम्पन्न ?


पार्टीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न प्रदेशका जिल्लामा अधिवेशन सम्पन्न भएको छ। कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा केशवप्रसाद ओझा, इलाममा तारा नेपाल, ताप्लेजुङमा अमृत साउदेन, मोरङमा मनोज बस्नेत, तेह्रथुममा टंकप्रसाद अधिकारी, संखुवासभामा दीपेन्द्र भण्डारी, भोजपुरमा जनक नेपाल, खोटाङमा ललित राई, ओखलढुंगामा पदमकुमारी गुरुङ, सोलुखुम्बुमा राजेन्द्र बस्नेत र उदयपुरमा धुर्ब रायमाझी नेतृत्वमा चयन भएका छन्।


मधेश प्रदेशका ८ जिल्लामध्ये सप्तरीमा उमेश्वर साह, सिराहामा शम्भु यादव, सर्लाहीमा विजय यादव, बारामा विनोद भारती र पर्सामा बिना जयसवाल कुर्मी नेतृत्वमा चयन भएका छन्।
बागमती प्रदेशका दोलखामा गंगा बहादुर बस्नेत, रामेछापमा भरत वाइवा, काभ्रेपलाञ्चोकमा सहदेव भण्डारी, सिन्धुपाल्चोकमा निलध्वज थापा, भक्तपुरमा अर्जुन कार्की र चितवनमा चेतनाथ वाग्ले नेतृत्वमा चयन भएका छन्।


गण्डकी प्रदेशका गोरखामा रमेश रमण खनाल, लमजुङमा क्याप्टेन केवेन्द्र जंग गुरुङ, तनहुँमा केदार केसी, कास्कीमा नारायण गुरुङ, मुस्ताङमा जेम्स हिराचन, म्याग्दीमा वीरबहादुर थापा क्षेत्री, पर्वतमा शेरबहादुर उचै ठकुरी, बागलुङमा विष्णु सापकोटा, स्याङ्जामा ऋषिराम लामिछाने र नवलपुरमा विष्णु अधिकारी चयन भएका छन्।


लुम्बिनी प्रदेशका रुपन्देहीमा सागरप्रताप राणा, कपिलवस्तुमा नारायण वासिंह, पाल्पामा डुलबहादुर कुँवर, गुल्मीमा त्रिविक्रम चन्द, रोल्पामा अमरबहादुर थापा, दाङमा प्रेमबहादुर शाह, बर्दियामा हेमन्त गिरी र पश्चिम नवलपरासीमा रामभवन यादव चयन भएका छन्।


कर्णाली प्रदेशका दैलेखमा सुरत केसी, सल्यानमा प्रदीप थापा, रुकुम पश्चिममा खम्बु खत्री, कालिकोटमा मदन रोकाया, मुगुमा वीरचन्द बुढा र हुम्लामा विकास महत चयन भएका छन्।
सुदूरपश्चिम प्रदेशका बैतडीमा इन्द्रशरण देव भट्ट र डोटीमा खड्गप्रसाद अग्रवाल चयन भएका छन्।


पार्टीका अनुसार हालसम्म ४८ जिल्लाको अधिवेशन सम्पन्न भएको छ भने बाँकी जिल्लामा पनि निर्धारित समयभित्र अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *