नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि हैजा रोगको संक्रमण फैलिन नदिन विदुर नगरपालिकामा हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ।
स्वास्थ्यकर्मीहरूले बिहीबार विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ तथा उहाँको सचिवालयमा कार्यरत कर्मचारीहरूलाई खोप खुवाउँदै अभियानको सुरुवात गरेका हुन्। अभियानअन्तर्गत नगरप्रमुख श्रेष्ठले समेत हैजाविरुद्धको खोप लिनुभएको छ।
भदौ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने अभियान नगरपालिकाका सम्पूर्ण वडाका तोकिएका खोप केन्द्रबाट सञ्चालन भइरहेको छ। एक वर्ष उमेर पूरा भएका सबै बालबालिका तथा व्यक्तिले हैजाविरुद्धको खोप लिन सक्ने नगरपालिकाले जनाएको छ।
बाढीका कारण खानेपानी तथा सरसफाइमा समस्या उत्पन्न भएको अवस्थामा हैजा संक्रमणको जोखिम बढ्न सक्ने भएकाले रोगको रोकथामका लागि खोप अभियान सञ्चालन गरिएको हो।
नगरप्रमुख श्रेष्ठले हैजा संक्रमणबाट सुरक्षित रहन सबै नगरवासीलाई अभियानमा सहभागी भई खोप लिन आह्वान गर्नुभएको छ। साथै, सुरक्षित खानेपानीको प्रयोग, व्यक्तिगत सरसफाइ र खानपानमा विशेष ध्यान दिनसमेत आग्रह गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्