चिलिमे भूमिगत विद्युतगृहमा फसेकाहरूको उद्धारमा तीव्रता, करिब १०० मिटर सुरुङ छिचोल्न बाँकी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २६, शुक्रबार १४:००


रसुवा । चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धारका लागि उद्धार टोलीले सुरुङभित्रको लेदो, बालुवा तथा ढुंगा हटाउँदै उद्धार कार्यलाई तीव्रता दिएको छ।
उद्धार कार्यमा सहभागी उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतगृह सञ्चालनको आफ्नो अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेको बताएका छन्।


घिसिङका अनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम भइरहेको छ। उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ।


उनका अनुसार सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा इको सुनिएको तथा त्यहाँबाट चिसो हावा समेत आएको छ। यसले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा थप बलियो बनाएको घिसिङले बताएका छन्।
हाल विद्युतगृह पुग्न करिब १०० मिटर मात्र बाँकी रहेको जानकारी प्राप्त भएको छ। उद्धारमा प्रत्येक मिटरको प्रगति र प्राप्त हुने प्रत्येक संकेतले आशा जगाइरहेको घिसिङको भनाइ छ।


यसैबीच स्याफ्रुवेसीतर्फबाट स्केभेटरमार्फत सुरुङसम्म पहुँच मार्ग निर्माणको काम पनि तीव्र पारिएको छ। आजसम्ममा स्केभेटर सुरुङसम्म पुग्ने सम्भावना रहेको र स्केभेटर तथा लोडर पुगेपछि उद्धार कार्य थप तीव्र हुने घिसिङले बताएका छन्।


उद्धार कार्य सफल हुने विश्वासका साथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका कर्मचारीलगायत टोली उच्च मनोबलका साथ अहोरात्र खटिइरहेको उनले उल्लेख गरेका छन्।
घिसिङले कठिन र संवेदनशील अवस्थामा उद्धारमा खटिएका सबै सुरक्षाकर्मी, प्राविधिक तथा सहयोगी निकायप्रति आभार व्यक्त गर्दै सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल उद्धार गर्न सकियोस् भन्ने कामना गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *